अधिवक्ताहरुको सडकबाटै उद्घोष, तोकिएको समयमा निर्वाचन नभए संबैधानिक रिक्तता


जागरण संवाददाता
सुर्खेत, १९ माघ ।
कर्णाली प्रदेशमा क्रियाशिल अधिवक्ताहरुले तोकिएकै समयमा निर्वाचन नभए संबैधानिक रिक्तता आउने भन्दै स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनको मिति तोक्न दवाब दिनका लागि नेकपा एमालेको विधार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटिले आयोजना गरेको वीरेन्द्रनगरमा आयोजना गरेको सडक बहसमा अधिवक्ताहरुले यस्तो बताएका हुन् । सात वटै प्रदेशका राजधानीका राजधानीमा सडक बहस गर्ने अनेरास्ववियुको केन्द्रीय कार्यक्रम अन्तर्गत कर्णालीमा पनि बुधबार सडक बहस आयोजना गरेको हो । बार एशोशियसन सुर्खेतका अध्यक्ष नन्द भण्डारीले जेठ ५ गते अघि स्थानीय तह निर्वाचन भएन भने संविधानको उलंघन हुने र अस्थिरता पैदा हुने बताउनुभयो । कानुनी राज्य र कानुनी शासनको प्रत्याभूति गराउनका लागि सरकारले संविधान ऐन कानुनको अक्षरस पालना गर्दै तत्काल निर्वाचनको मिति तोक्नुपर्ने भण्डारीले जिकिर गर्नुभयो । अधिवक्ता दुर्गा प्रसाद सापकोटाले तोकिएको समयमा निर्वाचन नभएन संबैधानिक रिक्तता आउने भन्दै दलहरु त्यसबाट सचेत रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि आवधिक निर्वाचनको मिति तलमाथि नगर्न दलहरुलाई आग्रह गर्नुभयो । अधिवक्ता शेरबहादुर केसीले दलहरु आफैले बनाएको संविधान इमानदारितापूर्वक पालना गर्न तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।


सडक बहसमा नेकपा एमाले कर्णाली प्रदेश सदस्य टेकेन्द्रकुमार वस्नेतले आवधिक निर्वाचनलाई एक दिन पनि तल वितल गर्ने कल्पना गर्ने ठाउँ नदिएको उल्लेख गर्दै स्थानीय तह निर्वाचन समयमै सम्पन्न नगरेर एमालेले आन्दोलन गर्ने बताउनुभयो । नेकपा एमाले सुर्खेतका उपसचिव घनश्याम पाण्डेले स्थानीय तह निर्वाचन एमालेले जित्छ भन्ने डरले वर्तमान गठबन्धन निर्वाचन गराउन पछि हट्न खोजेको जिकिर गर्नुभयो । अनेरास्ववियु कर्णाली प्रदेशका सहइन्चार्ज प्रेम खड्काले संविधानको रक्षा गर्नका लागि तोकिएकै मितिमा स्थानीय तह निर्वाचन मिति घोषणाका लागि सम्पूर्ण सचेत नागरिकहरुले आवाज उठाउनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा अनेरास्ववियुका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।