प्रदेश अस्पतालको व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार हुनुपर्छ, सक्दैन भने हात खडा गरोस ः राज्यमन्त्री रावत

सुर्खेत, १ जेठ (जागरण) ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पतालको सञ्चालन तथा व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।
जागरणसंग कुरा गर्दै राज्यमन्त्री रावतले कर्णालीका अस्पतालहरुलाई स्रोत साधनको कमी हुन नदिने भन्दै व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको हो । ‘प्रदेश सरकारले पनि के बुझोस भने बच्चा पाउने मात्र ठूलो कुरा होइन त्यसको पालन पोषण, संरक्षण संवद्र्धन प्रमुख कुरा हो’ राज्यमन्त्री रावतले भन्नुभयो ‘प्रदेश सरकारले जसरी निर्णय गरेर पठायो हामी यसलाई लिन्छौँ भन्नुभयो केन्द्र सरकारले सहज ढंगल दियो तर त्यति वेला पनि मेरा केही विमतीहरु थियो अहिले पनि मेरो आग्रह के छ भने प्रदेश सरकारले सक्दैन भने हात खडा गरोस केन्द्र सरकारले जिम्मा लिन्छ ।’ तर अहिलेको विषम परिस्थितिमा भने भएको स्रोत साधनको प्रर्याप्त सदुपयोग गर्नतर्फ ध्यान दिन रावतको आग्रह छ । प्रदेश सरकार मातहतमा रहेको अस्पताल भएकाले त्यसको व्यवस्थापनको मुख्य जिम्मेवारी प्रदेश सरकार र अस्पताल व्यवस्थापनको रहेको औँल्याउँदै रावतले केन्द्र सरकारले स्रोतको कुनै कमी हुन नदिएको बताउनुभयो । ‘हामीले स्रोतको कुनै कमी हुन दिएका छैनौँ’उहाँले भन्नुभयो,‘भएको स्रोत साधनको व्यवस्थापन गर्ने काममा त प्रदेश सरकार र अस्पतालको व्यवस्थापनले ध्यान दिनुप¥यो नी ।’
उहाँले अस्पतालले बिरामी भर्ना गर्दैनौँ भन्नु गलत भएको बताउनुभएको छ ।
अक्सिजन अभाव रहेको भन्दै कर्णाली प्रदेश अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसक्ने सूचना हिजो जारी गरेको थियो । रावतकै निर्वाचत क्षेत्रमा रहेको प्रदेश अस्पतालले त्यस्तो सूचना जारी गरेपछि नागरिकहरुले उहाँलाई लक्षितगरी सामाजिक सञ्जाल फेसबुकमा विभिन्न किसिमका प्रतिक्रिया दिएका छन् ।
राज्यमन्त्री रावतले आफू निरन्तर समन्वयमा लागिरहेको भन्दै आफू राज्यमन्त्रीमा नियुक्त भएदेखि कर्णालीमा २ अर्वको स्वास्थ्य सामग्री पठाएको बताउनुभयो । अक्सीजनसहितका थप स्वास्थ्य सामग्री आइतबारसम्म सुर्खेत आइपुग्नेगरी पठाइएको उहाँले जानकारी दिनुभएको छ ।