कर्णालीका बालबालिकाले सांसदलाई बुझाए माग पत्र

सुर्खेत, ६ मंसिर (जागरण) । कर्णाली प्रदेशका बालबालिकाहरुले बालक्षेत्रमा लगानी गर्न र बालमैत्री कानुनलाई कार्यान्वयन गर्नुपर्ने भन्दै प्रदेश सभाका सांसदहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
वीरेन्द्रनगरमा प्रादेशिक बालसहभागिता कार्यशालाको आयोजना गरेर बालबालिका क्षेत्रका समग्र समस्यासहितको मागपत्र उनीहरुले सांसदहरुलाई बुझाएका हुन् ।
सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यानका बालबालिकाहरुले झेल्नु परेका समस्याहरु छलफलबाट उठान गरेका छन् ।
कर्णालीका पाँच जिल्लाबाट सहभागी भएका बालबालिकाहरुले प्रदेशका दुर्गम जिल्लाका स्थानीय तहहरुमा सुत्केरी महिला तथा बालबालिकाको लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, कुपोषित भएर जन्मिने बालबालिकाहरुका लागि पोषकयुक्त खानेकुरा प्रदान गर्नुपर्ने, बालबालिकाकै लागि विशेष स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्ने र प्रदेश राजधानीमा बाल अस्पताल सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ ।
टिडिएच जर्मनीको सहयोगमा कन्र्सोटियम नेपाल, समाज जागरण केन्द्र (स्याक) नेपाल र मानवधिकार तथा वातावरण विकास केन्द्र कालिकोटले गरेको कार्यशालाबाट मागपत्र तयार गरी बुझाइएको हो ।