संघीय संसद्का गतिविधिबारे कर्णालीमा छलफल

सुर्खेत, १० जेठ (जागरण) । विगत तीन महिनामा प्रतिनिधिसभा र राष्ट्रिय सभामा भए गरेका कामकारबाही बारे कर्णाली प्रदेशमा छलफल गरिएको छ ।
नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद कार्यक्रमले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघिय संसद्का विभिन्न १६ वटा समितिका कामबारे छलफल गराएको हो ।


छलफलमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसीले प्रतिनिधिसभा र राष्ट्रिय सभाले बनाएका कानूनबारे गाउँगाउँ सम्म जानकारी पुर्‍याउनुपर्ने बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले बनेका ऐन, कानूनहरुका राम्रा व्यवस्थालाई संस्थागत गर्दै नराम्रा व्यवस्थालाई निरुत्साहित गर्न पटक पटक छलफल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
छलफलमा जिल्ला बार एशाेशियसनका अधिवक्ता शेरबहादुर केसी, मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानून संकायका निर्देशक अर्जनबहादुर ऐडी, विश्वविद्यालयका कानूनका विद्यार्थी लगायत अन्य विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने नागरिकहरुको सहभागिता भएको नागरिक संवाद कार्यक्रमका जिल्ला प्रमुख रामबाबु विसीले जानकारी दिनुभयो ।
उहाँले पहिलो दिन प्रतिनिधिसभाका १० वटा समिति, राष्ट्रिय सभाका चार वटा समिति र दुईवटा संयुक्त समितिले गरेका कामको संक्षिप्त रुपमा जानकारी गराइएको बताउनुभएको छ ।
कार्यालयमा कानूनसम्वन्धि पुस्तकालयसमेत स्थापना गरिएको र आगामी दिनमा नियमित रुपमा छलफल गरिने संवाद कार्यक्रमका प्रशासन प्रमुख अम्विका भट्टराईको भनाई छ ।