नेकपाको जिम्मेवारी बाँडफाँट अव असारमा

काठमाण्डौँ, २३ जेठ (जागरण) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्यहरुको जिम्मेवारी बाँडफाँट असार महिनामा गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि बस्ने सचिवालय बैठकले जिम्मेवारी बाँडफाँट गर्ने नेकपाले जनाएको छ ।
प्रधानमन्त्री ओली जेठ २५ गते युरोपका विभिन्न देशको औपचारिक भ्रमण गरेर असार १ मा नेपाल फर्किनुहुने भएको छ । त्यसपछि मात्रै जिम्मेवारी बाँडफाँटका लागि वैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकका लागि गृहकार्य नपुगेको बताएकाले हाललाई बैठक स्थगित भएको उहाँले बताउनुभयो ।
पार्टीले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउन सकेको छैन ।
कार्यविभाजन सकिएपछि मात्र बाँकी रहेका साङ्गठनिक एकीकरणका काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी छ ।