सुर्खेत, १२ असोज (जागरण) । नेपालीको महान् चाड बडादसैं आजाबाट सुरु भएको छ । पहिलो दिन आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरिन्छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार, यसवर्ष घटस्थापना र विजयादशमीका दिन टिकाका दुवै साइत १०.३५ बजे छ ।
घटस्थापनाका लागि शास्त्रीय विधिविधानअनुसार शुभमुहुर्तमा घडा स्थापना गरी जमरा राखिन्छ ।
दसमीका दिन बिहान ८.४५ बजे देवी विसर्जन गर्ने साइत छ । घटस्थापनाका अवसरमा दिने बिदालाई पछिल्ला वर्षमा कटौती गरिएको छ ।
यसरी मनाइन्छ दसैं
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादसैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।