राउटेको गुनासो, ‘प्रधानमन्त्रीसँग भेट्न पाएनौँ’

काठमाडौँ, १३ असोज (जागरण) । सरकारसँग दसैं खर्च माग्न दैलेखको गुराँस गाउँपालिकाबाट काठमाडौं गएका राउटेले प्रधानमन्त्री भेट्न नपाउँदा रित्तो हात घर फर्कनु परेको गुनासो गरेका छन् ।
राउटेका मुखियाको प्रतिनिधित्व गर्दै गएका प्रकाश शाहीले दसैं खर्च माग्न प्रधानमन्त्रीलाई भेट्ने प्रयास गर्दा पनि असफल भएको बताउनुभएको हो ।
राउटेका मुखिया सुर्यनारायण शाहीलाई गाडी चढ्दा वान्ता हुने भएपछि प्रतिनिधिको रुपमा प्रकाशलाई पठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नभएपछि उनीहरु रित्तो हात घर फर्केका छन् ।
दसैंको सप्तमीका दिन ‘दारामोस्टो’ पुजा गर्न ४६ बोका चाहिने उहाँले बताउनुभयो । प्रधानमन्त्रीसँग समय नपाएपछि उनीहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेका थिए । पोखरेलले उनीहरुलाई चाहिने खर्च पठाइदिने आश्वासन दिएको शाहीले बताउनुभयो ।