कर्णाली प्रदेशका जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन

सुर्खेत, १५ असोज (जागरण) । कर्णाली प्रदेशका विभिन्न्न जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन भएका छन् । भौगोलिक विकटताका कारण आउन नमान्दा दुर्गमका अस्पताल विशेषज्ञ चिकित्सकविहीन भएका हुन् ।
कर्णालीका एकजना विशेषज्ञ चिकित्सकले करिब दुई लाख ९४ हजार नौ सय ६३ जना बिरामी हेर्नुपर्ने अवस्था छ । यहाँ विशेषज्ञ चिकित्सकको दरबन्दी पूरा भए पनि एउटाले ३४ हजार ३४ जना बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता छ ।
विशेषज्ञ चिकित्सक नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउन आफूहरू वञ्चित भएकोस्थानीयको गुनासो छ । एकजना दक्ष चिकित्सक रहेका जिल्ला अस्पतालमा चिकित्सकले मात्र उपचार गरिरहेका छन् ।
कर्णालीका बिरामी जटिल खालको उपचार पाउन नेपालगन्ज, बुटवल, चितवन, काठमाडौंलगायत सुविधासम्पन्न अस्पताल जान बाध्य छन् ।
जिल्लामा त्यस्तो उपचार नहुँदा महँगो र लामो जोखिमपूर्ण यात्रा गरेर उपचार लिने गरेको सुर्खेतकी तुलसी लामिछानेले बताउनुभयो ।
विशेषज्ञ चिकित्सक छोटो समय बस्ने र जाने हुँदा झन् समस्या हुने गरेको छ । कर्णालीका अस्पतालमा ५२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर यहाँ ६ जना विशेषज्ञ चिकित्सक मात्र छन् ।
तर प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख वृश बहादुर शाहीले कर्णाली रैबारसँग कुरा गर्दै अहिले सबै अस्पतालहरुमा डाक्टरहरुको व्यवस्था गरिएको बताउनुभएको थियो ।