सुर्खेत, १९ असोज (जागरण) । नेपालीहरुको महान चाड बडादशैँको आठौँ दिन देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ ।
नागरिकहरु मूलघरतर्फः
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट धेरै जसो नागरिक आफ्नो मूलघर तर्फ लागेका छन् । ट्राफिक प्रहरीकाअनुसार वीरेन्द्रनगरमा बसोबास गर्ने मध्ये करिव ८० प्रतिशत नागरिक दशैंको टिका थाप्न मूलघर तर्फ लागेका हुन् ।
नागरिकहरु टिका थाप्न घरघर गएपछि वीरेन्द्रनगर सुनसान बन्न थालेको छ । सुर्खेतबाट बाहिरिने यात्रुहरुको चापका कारण सुर्खेत वसपार्क भिडभाडमय भएको छ ।
यातायातका साधन खचाखच, यात्रा सास्तीमयः
वडादशैँ सँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिनेको संख्या वृद्धि भएको छ । वर्षको एकपटक आउने दशैंमा आफन्तसँग टिका थाप्नको लागि टाढा टाढाबाट घरमा जाने गरिन्छ । तर यातायातका साधनमा क्षमताभन्दा धेरै यात्रुसमेत चढाउने गरेको पाइएको छ । यात्रुहरुले असहज रुपमा यात्रा गर्न बाध्य भएका छन् ।
सहकर्मी प्रविण शाहीको रिपोर्ट सुन्नुहोस्ः