हामी सिण्डिकेट हाेइन, सरकार र जनताका पक्षमा छौँः अध्यक्ष जुनी

सुर्खेत, २१ वैशाख (जागरण) । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज गाडी ठप्प पारेपनि पनि सुर्खेतका बिभिन्न कम्पनीका गाडी भने शुक्रबार निर्धक्कका साथ चलेका छन् । सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले सिन्डिकेटधारीहरुको आग्रह विपरित गाडी चलाउने निर्णय गरेका हुन् । अन्य यातायात व्यवसायी सिण्डीकेटको विपक्षमा उत्रिँदा कम्पनीमा दर्ता गरी गाडी संचालन गरिरहेकाले भने गाडी चलाएका छन् । सुर्खेतमा कम्पनीमा दर्ता भई चलिरहेका देउती यातायात प्रालि, सिद्धपाईला यातायात प्रालि र सुर्खेत बुलबुले यातायात प्रालिले गाडी संचालन गरेका छन् । यसै विषयमा देउती नागरिक यातायात प्रालि सुर्खेतका अध्यक्ष कमल खड्का जुनीसँग जागरणकर्मी चाँदनी कठायतले कुराकानी गर्नुभएको छ ः

प्रतोताः हामीले सबैभन्दा पहिला अरु सबै व्यवसायीले गाडी बन्द गर्दा तपाईँहरुले किन चलाउनुभएको हो ?

पाहुनाः हामी जनतालाई दुःख दिने मनशायले गाडी कम्पनीमा दर्ता गरेका होईनौँ । हामी नाफामुलक व्यवसाय गर्छौँ तर जनताको विरुद्धमा हानी हुने गरी काम गर्दैनौँ । हामी सरकारका विरुद्धमा कहिल्यै जाँदैनौँ । नेपाली नागरिक भएपछि सरकारको निती नियम मान्नुपर्छ हामीले । त्यहीभएर हामीले यातायात बन्द नगरेर संचालन गरेका हौँ ।

प्रस्तोताः अन्य व्यवसायीले धेरै दिनसम्म आन्दोलन गरिरहे भने तपाईँहरु के गर्नुहुन्छ ? साथ दिनुहुन्छ समितीलाई ?

पाहुनाः होईन हामी गर्दैनौँ सरकारको विरोधमा गएपछि सबैले दुःख पाउँछन् त्यही भएर हामी पनि साथ दिन्छौँ सरकारलाई । तर अहिले आन्दोलन गरिरहेको यातायात व्यवसायी समितिलाई हामी कदापी समर्थन गर्दैनौँ । उहाँहरुलाई म आग्रह गर्छु कि यो आन्दोलन रोकेर सरकारलाई साथ दिनुस् । केही चित्त नबुझेको हामीलाई पनि छ तर यसरी जनतालाई दुःख दिएर केही पनि काम सफल हुँदैन । केही निश्चित व्यक्तिहरुको लयमा लागेर सरकारको राम्रो कामको विरोध गर्नु उचित होईन ।

प्रस्तोताः सरकारले तपाईँहरुलाई सुरक्षाको व्यवस्था गरेको छ ?

पाहुनाः एकदमै सरकारसँग आज पनि हाम्रो छलफल भएको छ काठमाण्डौंमा । हामीलाई गृहमन्त्री, यातायात मन्त्री, सचिव उपसचिवलगायतले नै हामीलाई सुरक्षा दिने प्रतिवद्धता जनाउनुभाछ ।

प्रस्तोताः सरकारलाई तपाईँको समर्थन केही दिनमात्रै हुन्छ कि सधैँभरी ?

पाहुनाः हाम्रो समर्थन भनेको सरकारलाई सधैँ हुन्छ । हामीले गाडी बन्द गर्नलाई लिएका होईनौ, यो सँग हाम्रो पनि जिन्दगी जोडिएको हुन्छ त्यसैले सरकारलाई समर्थन गर्छौँ । हामीलाई व्यापार घाटा पनि हुन्छ । हामी कहिल्यै गाडी रोक्दैनौँ ।

प्रस्तोताः घाटा हुने भएर मात्रै सरकारलाई साथ दिनुभाको हो कि सिण्डिकेट विरुद्ध नै हुनुहुन्छ तपाईँहरु पनि ?

पाहुनाः हामी एकदमै सिण्डिकेट विरुद्ध छौँ । त्यतिखेर हामीले कम्पनीमा दर्ता गरेर गाडी चलाउँदा हामीलाई समितीवालाले धेरै हेप्नुभयो । तैपनि हामी स्वच्छ प्रतिस्पर्धा नै गरिरहेका छौँ । हामीलाई पनि सिण्डीकेटले समस्यामा पारेको थियो । अब सरकारको यो निर्णयलाई सबैले साथ दिनुपर्छ ।