रातानाङ्लाको दुर्घटनाका एक घाइतेको मृत्यु

सुर्खेत, १९ असोज (जागरण) । बाँकेको नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जुम्लाको हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालकसहित नौ जनाको उद्दार गरिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते भएका जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटालाई बाँकेको नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
भे १ ज १०८४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाई छ । घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । अरु घाइतेहरुको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । यसैगरी, काठमाडौँबाट सुर्खेतको लागि छुटेको ना ७ ख ६८४१ नम्बरको यात्रुवाहक बस दाङ र बाँके जिल्लाको सीमानामा रहेको शिव खोलामा पल्टिएको छ ।
बस पल्टिदा ११ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागी कोहलपुर र नेपालगञ्ज पु¥याइएको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।