ओमानमा जारी क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, करणको उत्कृष्ट प्रदर्शन

काठमाण्डौँ, २० असोज (जागरण) । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको मद्दतबाट लगातार दोस्रो जीत हाँसिल गरेको छ ।
आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपालले हङकङलाई ४ विकेटले नै पराजित गरेको थियो ।
नेदरल्यान्ड्सले दिएको १ सय ३४ रनको चुनौती नेपालले अन्तिम एक बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनरका रुपमा आएका कप्तान पारस खड्का ४१ बलमा ३३ रन बनाएर ‘एलबीडब्लु’ आउट हुनुभयो ।
त्यसपछि धर्मराएको नेपाली इनिङ्सलाई विनोद भण्डारीले केही सम्हाल्नुभयो । उहाँ २२ बलमा २६ रन बनाएर पवेलियन फर्किनुभयो । विनोदले हङकङविरुद्ध अर्धशतक बनाउनुभएको थियो ।
अर्का ओपनर पवन सर्राफले ९ रन, आरिफ शेखले २, दीपेन्द्रसिंह ऐरीले ८ र रोहितकुमार पौडेलले ५ रनमात्र बनाउनुभयो ।
करण केसीले नेपालका लागि बलिङसँगै ब्याटिङमा पनि विस्फोटक प्रदर्शन गर्नुभयो । उहाँले १४ बलमा अविजित ३१ रन जोड्दै नेपाललाई जीत दिलाउनुभयो । जसमा तीन छक्का र एक चौकासमेत सामेल थियो ।
सोमपाल कामी ३ रनमा अविजित रहनुभयो । नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा ‘अलआउट’ हुनुपूर्व १ सय ३३ रन जोडेको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले पर्सी असोज २२ गते आयरल्यान्डसँग तेस्रो र बिहीबार ओमानसँग अन्तिम खेल खेल्ने तालिका छ ।