सुर्खेत, २१ असोज (जागरण) । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरुले विजया दशमी पर्व मनाइँदैछ ।
महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ ।
दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।
असोज १२ गतेदेखि शुरु भएको बडादशैँ अन्तर्गत आज महत्वपूर्ण दिनको रुपमा मान्यजनबाट टिका ग्रहण गरिँदैछ । दुई हप्तासम्म मनाइने बडादशैँअन्तर्गत विजया दशमीदेखि पूर्णिमासम्म बडादशैँको टिका लगाउने गरिन्छ ।
आफ्ना मान्यजनबाट टिका ग्रहण गर्न र आफूभन्दा सानालाई टिका लगाई आशिर्वाद दिन प्रायः नागरिक आफ्नो मूल घरमा पुगेका छन् । यसवर्षको वडादशैँको टीका लगाउने पहिलो साइत आज विहान १० बजेर ३५ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिकाअनुसार टिकाको पहिलो साइत विहान १० बजेर ३५ मिनेटमा रहेको र त्यसपछि पूर्णिमाकै दिनसम्म टिका लगाउन राम्रो साइत रहेको छ ।
शीर्ष नेताहरुको शुभकामनाः
विजया दशमीको अवसरमा शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राजनितिक दलका प्रमुख तथा कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना व्यक्त गरेका हुन् ।
पर्वको अवसरमा विज्ञप्ती जारी गर्दै राष्ट्रपति भण्डारीले देशमा शान्ति, समृद्धी र विकासको कामना समेत गर्नुभएको छ । यस्ता चाडपर्वहरुले नेपाली–नेपालीबीचको सद्भाव कायम गरी भाइचाराको भावना विकास हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले दशैँको शुभकामना दिँदै समृद्ध नेपाल–सुखी नेपालीको अभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।
सार्वसाधारणलाई टिका लगाइदिनेः
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँका दिन विशिष्ट व्यक्ती तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । विगतका वर्षहरुमा जस्तै राष्ट्रपतिले विजया दशमीको दिन दुई चरणमा टिका लगाइदिनुहुने भएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार असोज २१ गते दिउँसो १ देखि २ बजेसम्म उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु, संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिनुहुने भएको हो । त्यस्तै दिउँसो साढे २ बजेदेखि एक घण्टा सर्वसाधरणका लागि टीका लगाइदिनु हुने छ ।
प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिने बताइएको छ । उहाँलाई चिकित्सकले टीकाको कार्यक्रममा भाग नलिनु भने पनि एक दिन भने उहाँले टीका लगाइदिने कार्यक्रम राखिएको छ ।