नगरप्रमुखले वाचा पुरा गरे, स्वास्थ्य सेवा सहज बनाउन चामुण्डामा एम्बुलेन्स सेवा

दैलेख, २२ वैशाख (जागरण) । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ ।
यातायात सुविधाको अभावमा अकालमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै चामुण्डाविन्द्रासैनीले एम्बुलेन्स सेवा सुरु गरेको हो ।
जनताको स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यका साथ नगरपालिका मार्फत संचालन हुने गरि एम्बुलेन्स सेवा सुचारु गरिएको हो ।
नगर प्रमुख सुर्यबहादुर शाहीले यातायातको सुविधाको अभावमा नगरवासीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
उहाँले नयाँ संविधानले सबै नागरिकलाई अनिवार्य रुपमा शिक्षा र स्वास्थ्य सुनिश्चित गरेको अवस्थामा नगरवासीलाई एम्बुलेन्स सेवाले ठूलो राहत मिल्ने बताउनुभयो । आफु निर्वाचित भएपछि जनतालाई बचाउन एम्बुलेन्स किन्छु गाडी चढ्दैन भन्ने प्रतिवद्धता अनुरुप नै एम्बुलेन्स सेवा सुचारु गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अब कोही नागरिकले समयमै उपचारबाट वञ्चित भई अकालमै ज्यान गुमाउनु पर्ने छैन ।’ जनताको जीवन बचाउनका लागि नै एम्बुलेन्स सेवा खरिद गरेको उहाँले बताउनुभयो ।
यातायताको सुविधा नभएकाले यसअघि स्थानीयले बिरामीलाई घण्टौं पैदल बाटोमा बोकेरै उपचाका लागि यातायताको सुविधा भएको स्थान पदुका खोला र दुल्लु लैजाने गरेका थिए ।
एम्बुलेन्स सेवा सञ्चालन भएसँगै नगरपालिकाका २६ हजार जनता लाभान्वित हुने भएका छन् । त्यस क्षेत्रका बिरामीलाई स्थानीय स्वास्थ्य केन्द्रसम्म र त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई सदरमुकाम दैलेख तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र नेपालगञ्ज लैजानका लागि सहज हुने स्थानीयहरुले बताए ।
नगरपालिकाले एम्बुलेन्स सेवा पाएपछि स्थानीयहरु हर्षित भएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा ६ का नगेन्द्र विष्टले नगरपालिकाले एम्बुलेन्स सेवा दिदा आफुलाई सिंहदरबारको अधिकार गाउँमै पुगेको आफुलाई अनुभुति भएको बताउनुभयो ।
१० लाख ५० हजारको अनुदानमा एम्बुलेन्स सेवा सुचारु गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली जानकारी दिनुभयो ।