पापकुंश एकादशीः आज पनि टिका–जमरा लगाइदै

सुर्खेत, २२ असोज (जागरण) । आज नेपाली हिन्दुहरुको महान चाड बडादशैँको एघारौँ तथा विजयादशमीको दोस्रो दिन, पाप कुंश एकादशी मनाइँदैछ । आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहन्छ ।
एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा व्रत बस्ने, फलाहारहरु मात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।
दशैँको टीकाको भोलीपल्ट पर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रिपछि पर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।
टाढा टाढा घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजबाट कोजाग्रत पूर्णिमासम्म दशैँको टीका र जमरा लगाइदिने चलन छ ।
आजको दिनमा व्रत बसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काँशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने दुर्गाकथामा उल्लेख छ । साथै आजको दिन सुन, तिल, जौँ, अन्न, भूमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास छ । आश्विन शुक्लपूर्णिमा दुर्गापक्षको अन्तिम दिन हो ।
यस दिन बाँकी रहेका व्यक्तिबाट टीकाप्रसाद ग्रहण गरी यसलाई पूर्ण गरिन्छ । टीकाटालोको क्रम सकिएपछि घटस्थापनाका दिन दशैंघरमा राखिएका सारा सामग्री अवशेष पानीपँधेरा तथा जलघाटमा लगेर सेलाइन्छ ।