राराबाट बासी भात् खाएर फर्किनुपर्ने बाध्यता, के गर्दैछ प्रदेश सरकार (अडियो सहित)

खड्क सुनार ।
मुगु, २३ असोज (रेडियो सौर्यदय) । पछिल्लो समय कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको संख्यामा वृद्धी भए पनि पर्यटकहरुले सास्ती व्यहोर्नु परेको छ ।
रारा राष्ट्रिय निकुञ्जका अनुसार दैनिक एक सय ५० जनाको हाराहारीमा पर्यटक रारा पुग्ने गरेका छन् । तर खाने र बस्ने व्यवस्था गतिलो नहुँदा पर्यटकले खिन्नता व्यक्त गर्ने गरेका छन् ।
रारा पुगेपछि जीवनकै रमाइलो महसुस भएपनि खाना र बस्ने व्यवस्था भने गतिलो नहुँदा खल्लो लागेको रुपन्देहीको बुटवलबाट करिव एक हप्ताको यात्रापछि रारा पुग्नु भएका महेश बस्नेतले बताउनुभयो । विश्वसामू परिचित भएको रारा क्षेत्रबाट चर्को मूल्यमा बासी खाना खाएर घर फर्कनु परेको उहाँले दुखेसो गर्नुभयो ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक बीचबीचमा खाल्डा खुल्डी र बेला बेला अवरुद्ध हुने कारण पनि रारामा पुग्ने यात्रुलाई सास्ती भएको छायाँनाथ रारा नगरपालिका झ्यारीका स्थानीय नागरिक रतन बहादुर रावलले बताउनुभयो ।
केही महिना अघि मात्रै होटल व्यवसायी, उद्योग बाणिज्य संघ, स्थानीय नागरिकको पहलमा सडक सञ्चालन भएपनि फेरी एक महिना नबित्दै अवरुद्ध हुँदा पर्यटकलाई सास्ती भएको समाचार रेडियो सौर्यदय मुगुका खड्क सुनारले पठाउनुभएको छ ।
यता, कर्णाली प्रदेशको प्रमुख पर्यटकिय क्षेत्रमा पर्यटकले सास्ती भोग्नु परेको समस्यामा आफूहरु गम्भिर रहेको प्रदेश सरकारले जनाएको छ ।
सडकका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ बजेट छुट्याएको र छिट्टै काम अघि बढ्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले बताउनुभएको छ ।
थप सुनौँ उहाँसँग दीपेन्द्र ओलीले गरेको यो कुराकानीः