सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका तीन जिल्लामा तीन वर्षभित्र ५० वटा नमूना गाउँ बनाउने तयारी भएको छ । नमूना समाज सुर्खेतको सहजिकरण र स्थानिय तहहरुको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटमा ५० वटा नमूना गाउँ बनाउने तयारी भएको हो ।
सुर्खेतका सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका र जुनिचाँदे गाउँपालिका तथा दैलेखको ठाँटीकाँध र गुराँस गाउँपालिकामा नमूना गाउँ बनाउन लागिएको हो ।
अहिले तीनवटै जिल्लामा नमूना गाउँ व्यवस्थापन समिति गठनको काम भइरहेको नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर घर्तिमगरले बताउनुभयो । अहिले १४ वटा व्यवस्थापन समिति गठन भइसकेका उहाँले बताउनुभयो ।
नमूना गाउँ बन्नका लागि पहिलो वर्ष मानव विकास सुचाङ्कसँग सम्वन्धित सशक्तिकरण र सचेतिकरणका काम गरिने, दोस्रो वर्ष भौतिक पूर्वाधार तथा सीप विकासका काम गर्ने र अन्तिम तथा तेस्रो वर्ष स्थानिय तहलाई हस्तान्तरण गरिने छ ।
हरेक नमूना गाउँमा कम्तिमा २० जना स्वरोजगार हुनेगरी कार्य गरिरहेको कार्यकारी निर्देशक घर्तिमगरले बताउनुभयो । नमूना गाउँ बनाउनका लागि ९ वटा मुख्य सुचक र मुख्य सुचकलाई आधार बनाएर एक सय ५ वटा सहायक सुचकहरु हरेक वर्ष पूरा गरिसक्नुपर्ने मापदण्ड बनाइएको छ ।
स्वास्थ्य, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई, जिविकोपार्जन, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धन, सशक्तिकरण र अधिकार, महिला पुरुष समान नेतृत्व र लघु भौतिक पूर्वाधारका योजनाहरु गरी नौ वटा मुख्य सुचक रहेका नमूना समाजले जनाएको छ ।