निगालोका सामग्री लोप हुँदै

खड्क सुनार ।
मुगु, २४ असोज (रेडियो सौर्यदय) । मुगु लगायतका हिमाली तथा पहाडी जिल्लाहरुमा पाइने निगालोबाट बनाइएका डोकाडाला पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् ।
बजारमा प्लाट्रिकका सामग्री उपलव्ध हुने र निगालोको डोकाडाला बनाउने नयाँ पुस्तामा सीप नभएका कारण यस्तो भएको हो ।
लामो समयदेखि निगालोका डोकाडाला विक्री गर्दै आउनुभएका रत्नसिहं विकले पहिले जस्तो डोकोडालो बुन्ने व्यक्तिहरु नभएको बताउनुभयो । आफुले एकदिनमा पाँच सय रुपैयाँ कमाई गर्दै आइरहेको उहाँले बताउनुभयो ।
डोकोडालो तथा रोजगारीकै लागी भएपनि नयाँ युवा पुस्तालाई डोकोडालो बुन्ने सम्बन्धी सीप सिकाउन पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
निगालोबाट बुनेका सामग्रीको प्रयोग पनि पछिल्लो समय घटेको उहाँले बताउनुभएको छ । उहाँले बजारमा आएका प्लाट्रिकका सामग्रीले आफ्नो पेशा धरापमा परेको बताउनुभएको छ ।