सुर्खेत, २५ असोज (जागरण) । बडादशैं मनाउन आफ्नो मुलघरमा गएकाहरु आफ्नो कर्मथलो फर्किन शुरु गरेका छन् ।
बडादशैँ अन्तर्गत आफ्ना मान्यजन र आफन्तसँग टिका, जमरा र आशिर्वाद ग्रहण गरेर आफ्नो काममा फर्किने क्रम शुरु भएको हो ।
केही दिन सुनसान बनेका शहर बजारमा अव भने चहलपहल शुरु भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बजार क्षेत्रमा चहलपहल शुरु भएको हो ।
सरकारी कार्यालय तथा गैरसरकारी कार्यालय र व्यापार व्यवसायहरु सञ्चालनमा आएपछि चहलपहल पनि बढेको हो ।
केही दिन सुनसान भएका कर्णाली प्रदेशका विभिन्न जिल्लाका सदरमुकामहरुमा पनि अव भने चहपहल शुरु भएको सामुदायिक रेडियोहरुले समाचार पठाएका छन् ।
बडादशैँ अन्तर्गत महानवमीका दिनसम्म शहरबाट गाउँतर्फ कुद्ने सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी भएकोमा अव भने गाउँबाट शहरतर्फ फर्किनेको चाप बढी छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने सार्वजनिक सवारी साधनमा कम मात्र यात्रु हुने तर गाउँबाट वीरेन्द्रनगरतर्फ फर्किँदा यात्रुको चाप थेगिनसक्नु हुने गरेको सवारी चालकहरुले बताएका छन् ।
यस्तै, बडादसैंको टीकाको चौथो दिन आज पनि मान्यजनबाट जमरा र आर्शीवाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ ।
टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम कोजाग्रत पूर्णिमा अर्थात् भोली सम्मै जारी रहन्छ ।
घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।
परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । योक्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ ।
ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीका रुपमा लिने गरिन्छ ।
यता, दशैँको अवधिमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएकाहरुको अनुसन्धान शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राऊ परेकाहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको हो ।
दशैँको अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै दुई लाख भन्दा बढी नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात÷सातजनालाई पक्राउ गरिएको हो ।