टेकराज केसी
सुर्खेत, २६ असोज (जागरण) । सुर्खेत वराहाताल गाउँपालिकाका नागरिकहरुले लामो समयदेखि भेरीको फोहर पानी खान बाध्य भएको गुनासो गरेका छन् ।
गाउँपालिका वडा नम्बर २ का नागरिकहरुले विगतदेखि नै भेरीको फोहर पानी खानुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् ।
विशेषगरी रानीघाट थापा टोल लगायतका एक दर्जन गाउँले भेरीको धमीलो पानी खानुपर्दा स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै शुद्ध खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् ।
वडा नम्बर २ को रानिघाटमा होटेल व्यवसाय गरिरहनुभएका स्थानीय छविसरा थापाले आफुहरुले लामो समयदेखि भेरीको धमीलो फोहर पानी पिउन बाध्य भएको भन्दै सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
वडा नम्बर २ का अर्का स्थानीय दल बहादुर थापाले पनि बर्षाको समयमा पानी खान नमिल्ने भएपनि खानुपर्ने बाध्यता रहेको गुनासो सुनाउनुभयो ।
उहाले निर्वाचन ताका नेताहरुले फोहर पानी खानुपर्ने बाध्यता हटाउने वचन दिएपनि अहिले विर्सिएको भन्दै दुखेसो गर्नुभयो ।
करौडौको लगानी लगाउदा पनि यहाँका नागरिकहरुले खानेपानी खान नपाएको भन्दै एक सय ५० घरधुरी फोहर पानी खानुपर्ने बाध्यता नहेटेको अर्का स्थानीय रामचन्द्र पुरीले भनाई छ ।
उहाले बेलाबेलामा भेरीको फोहर पानीको प्रयोगले पानीजन्य रोगहरु हुने गरेको भन्दै यसतर्फ स्थानीय र प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
भेरीमा बग्ने फोहर पानी पिउने वराहाताल दुइका उदाहरण मात्र हुन् । भेरी नदि आसपासमा बस्ने यो प्रदेशका अधिकांस व्यक्तीहरु फोहर पानी खान बाध्य छन् । तर सरकारको भने ध्यान जान सकिरहेको छैन् ।
यता, प्रदेश सरकारले भने भेरीको पानी बोरिङ्ग गरि माथी ल्याउने योजना बनाएको भएपनि काममा ढिलाई भइरहेको छ ।