वैठकभत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीलाई

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खम्वराज थानीले आफ्नो कार्यकालभर भएका वैठकको भत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीका लागि खर्च गराउनुहुने भएको छ ।

गरिव तथा असहाय विरामी उपचार कोषमार्फत् रकम खर्च गर्ने प्रस्ताव व्यवस्थापन समितिको अन्तिम वैठकले स्वीकार गर्ने निर्णय गरेको छ ।
तीन वर्षको अवधिमा भएका वैठकको भत्ता र सञ्चार खर्चवापत् प्राप्त ५५ हजार रुपैयाँलाई कोषमा जम्मा गरिने र त्यसको व्याजलाई गरिव र असहाय विरामीको उपचारमा खर्च गरिने भएको हो ।
थानीले यस्तो रकम आगामी समितिको सिफारिस र आफ्नो स्वीकृतिमा खर्च गर्न मिल्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । इच्छुकहरुले यो कोष बढाउन सहयोग गर्नसमेत अपिल गर्नुभयो ।