चालु आर्थिक बर्षको पहिलो त्रैमासिकसम्म कर्णाली प्रदेशको बजेट खर्च शुन्य (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, २९ असोज (जागरण) । चालु आर्थिक बर्षको ३ महिना वित्नै लाग्दा समेत कर्णाली प्रदेशको बजेट कार्यान्वयनको अवस्था शुन्य देखिएको छ ।
आर्थिक बर्षको शुरुवातीमै वजेट खर्चको अवस्था शुन्य देखिएपछि विगतको जस्तै खर्च नहुने संकेत देखिन्छ ।
पहिलो त्रैमासिक सकिन लाग्दा समेत वजेट खर्चको चाँजोपाँजो नदेखिएपछि नागरिहरुले भने विगतको जस्तै वजेट खर्च नहुने समस्या दोहोरिने चिन्ता व्यक्त गरेका छन् ।
उनिहरुले योजनाअनुसार बजेट कार्यान्वयनमा जोड दिन सुझाव दिएका छन् ।
यता कर्णाली प्रदेशको भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले विभिन्न महत्वकांक्षी योजनाहरु बनाएको छ । तर ति योजनाहरुमा पहिलो बर्षको तिन महिनाको बजेट खर्च भने शुन्य छ ।
मन्त्रालयका प्रवक्ता हरी प्रसाद पण्डितले आफुहरु कार्यविधि निर्माणकै चरणमा रहेको बताउनुभयो ।
उहाले दशवटै जिल्लामा नयाँ कृषि कार्यालयहरु खोल्न र कर्मचारी व्यवस्थापनको कारण बजेट कार्यान्वयनमा ढिलाई भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाले गत बर्षजस्तो काममा ढिलाई अहिले नहुने भन्दै छनौट भएका गाउँहरुमा काम नभए अन्य नमुना गाउँ बनाउने योजना बनाइको बताउनुभयो ।

मन्त्रालयका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत पुर्णबहादुर थापाले यो तिन महिनामा बजेट कार्यान्वयनको लागि तयारी गरिएको भन्दै अब काम अगाडी बढ्ने बताउनुभयो ।

कर्णालीको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र होइन सबै मन्त्रालयको चालु आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था चिन्ताजनक छ ।
गत आर्थिक बर्षमा कर्णालीमा छुट्याइएको २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेटको ३४ प्रतिशत मात्र खर्च भएको थियो ।
यो आर्थिक बर्षमा प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो गत आर्थिक बर्षको तुलनामा ६ अर्बले बढी हो ।
कर्णालीमा आएको बजेट विगतदेखि नै खर्च नभएर फिर्ता हुने परिपाटी बस्दै आएको भन्दै सरोकारवालाहरुले भने चिन्ता व्यक्त गर्ने गरेका छन् ।