सुर्खेत, २४ वैशाख (जागरण) । विशेषगरी धेरै जसो ठाउँमा विकासे कामहरु चालु आर्थिक वर्षको अन्त्यमा सक्न चटारो हुन्छ । विकासे अड्डाहरुमा जेठ र असारमा वर्षमा दुई महिना मात्र विकास निर्माणका काम हतार हतारमा हुन्छ । बाँकी १० महिनामा जुन गतिमा काम हुनुपर्ने हो त्यसअनुरुप हुन सकिरहेको पाईदैन । आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परम्पराले विकास निर्माणमा गुणस्तर कायम हुन सक्दैन ।
यसै विषयमा हामीले विकासे कामहरु आर्थिक वर्षको अन्त्यमा आएर हतारमा सक्नुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । पढ्नुहोस् जनताको आवाज जस्ताको तस्तै ।
–शिवप्रसाद जैशी, तातापानी ३ सुर्खेत । काम त पहिला नै गर्नुपर्छ । वर्षामा पानी पर्छ नि त काम गरेपनि बालुवामा पानी खन्याएजस्तो काम नलाग्ने हुन्छ त्यसैले नियम नै परिमार्जित गर्नुपर्छ विकासका काम आर्थिक वर्षको शुरुबाट नै गर्नुपर्छ ।
–कालसिंह नेपाली, वीरेन्द्रनगर ६ । हतार हतारको कामले गर्दा सम्पन्न हुन थालेको काम पनि झन् विग्रन थाल्छ । हतारको कामले बजेट हिनामिना हुन्छ त्यसैले बजेटको सदुपयोग गरेर अलि अगाडिबाटै काम गर्नुपर्छ । काम गर्नेबेलामा विचार पु¥याउनुपर्छ । बजेट सक्ने नाममा हतारमा काम गर्नुुहुँदैन । बजेट फ्रिज जान्छ भनेर काम यता न उताको बनाउनुको कुनै अर्थ रहँदैन ।
–धुर्व कँडेल वीरेन्द्रनगर सुर्खेत । काम समयमा सम्पन्न गर्नका लागि समयमै बजेट आउँदैन अनि बजेट सक्न अन्त्यमा आएर हतार हतारमा काम गर्नुपर्छन । काम समयमा सम्पन्न गर्नलाई तट समयमा बजेट आउनुप¥यो । साउनमा टेण्डर भैसकेर भदौ असोजबाट काम शुरु हुनुपर्छ अनि मात्रै काम गुणस्तर र समयमै सम्पन्न हून्छ । बजेट फ्रिज जाने डरले हतारमा काम गर्नैपर्छ ।
– ललितबहादुर थापा, नारायण नगरपालिका दैलेख । समयमा सरकारले बजेट निकासा गरिदिनुपर्छ यस्को लागि त । बजेट समयमा निकालेर छिटो काम गर्नुप¥यो भनेर कडाईका साथ निर्देशन गर्नुपर्छ होला ।