कर्णाली प्रदेशः बालबिबाहको अवस्था चिन्ताजनक, चालिस हजारले उमेर नपुगी बच्चा जन्माउछन (अडियो सहित)

पंखबहादुर शाही
सुर्खेत, ३० अससोज (जागरण) । कर्णाली प्रदेशका १० वटा जिल्लामा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाले गरेको एक अध्ययनमा बालबिबाहको अवस्था नघटेको पाइइएको हो ।
अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार कर्णालीमा ५२ प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको छ । अधिकांश बालविवाह आफूखुशी हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
बालविवाह गर्नेको कुल संख्यामा २ प्रतिशतको मात्र मागी विवाह अर्थात अभिभावकले गराइदिने विवाह हुने गरेको छ । ९८ प्रतिशत बालबालिकाले आफ्नै मर्जीले भागी विवाह गर्ने गरेका छन् ।
सबैभन्दा बढी बालविवाह रुकुम पश्चिममा हुने गरेको छ । रुकुम पश्चिममा ७१.६ प्रतिशत बालबिबाह हुने गरेको छ ।
त्यसैगरी, सल्यानमा ६९ दशमलव ८ प्रतिशत, सुर्खेतमा ६ दशमलव ८२ प्रतिशत, दैलेखमा ७० दशमलव ६६ प्रतिशत बालविवाह हुने गरेको अध्यनले देखाएको छ ।
यस्तै, जाजरकोटमा ६५ दशमलव ८६ प्रतिशत, डोलपामा ४९ दशमलव ९५ प्रतिशत, जुम्लामा ६९ दशमलव ७६ प्रतिशत, कालिकोटमा ५९ दशमदव १७, मुगुमा ५७ दशमलव ३९ र हुम्लामा ५२ दशमलव ३८ प्रतिशत बालविवाह हुने गरेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रतिवेदन अनुसार १० वर्षमुनि विवाह गर्नेको संख्याभन्दा १० देखि १४ वर्षका उमेर समूहको धेरै छ भने सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मका बालबालिकाले बालविवाह गर्ने गरेको उल्लेख छ ।
२० वर्षभन्दा कम उमेरमा बितेको तीन वर्षमा गर्भवती हुने बालिकाको संख्या ४० हजार ९ सय ६१ रहेको छ ।
तीमध्ये डोल्पामा ६ सय ७, मुगुमा २ हजार ३ सय २६, हुम्लामा ९ सय २, जुम्लामा २ हजार ८ सय ३०, कालिकोटमा २ हजार ५ सय ३ जना गर्भवती भएका छन् ।
यस्तै, दैलेखमा ४ हजार ६ सय ९६ जना, जाजरकोटमा ४ हजार २४, रुकुम पश्चिममा ७ हजार ५ सय ९० जना, सल्यानमा ६ हजार ६ सय ५२ जना र सुर्खेतमा सबैभन्दा बढी ८ हजार ७ सय १६ जना २० वर्षभन्दा कम उमेरमै गर्भवती भएका छन् ।
कर्णाली सामाजिक विकास मन्त्री दल रावलले भने सरकार एक्लैले चाहेर यस्ता सामाजिक अपराध रोक्न नसक्ने बताउनुभएको छ । बालविवाह अन्त्यको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उहाँले दाबी गर्नुुभएको छ ।
मन्त्री रावलले प्रदेश सरकारले २०० भन्दा बढी छोरीलाई तीन वर्षे प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिई अध्यापन गराइरहेको बताउँदै चालू आर्थिक वर्षमा डाक्टर तथा इन्जिनियरिङ पढने छोरी बुहारीलाई छात्रवृत्ति दिने बताउनुभयो ।

कर्णालीमा रहेका सबैखाले कुप्रथाविरुद्ध एकजुट भई लाग्न सबै राजनैतिक दल, समाजका अगुवा, शिक्षक, कर्मचारी, प्रहरी, अभिभावक, सञ्चार जगतलाई उहाँले आग्रह गर्नभएको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायाँ ढकालले अहिले गाउँगाउँमा सचेतनाका कार्यक्रम संचालन गरिएकाले यस्ता सामाजिक कुरितीहरु अन्त्य गर्न सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।