बुद्धी पुन
सल्यान, २ कात्तिक (रेडियो राप्ती) । सल्यानका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने भएको छ । आज र भोली ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाईने भएको हो ।
सल्यानमा यस पटक ६ महिना देखी माथी र पाँच वर्ष मुनिका २४ हजार ९ सय ५६ जना बालबालिकाहरुलाई भिटामिन ए खुवाईने छ ।
अहिले सबै पालिकामा बालबालिकाको तथ्याङक सहित भिटामिन ए र जुकाको औषधीको विवरण पठाई सकेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले दिएको तथ्याङक अनुसार जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा ३ हजार ९ सय ६५ जना, बागचौर नगरपालिकामा ३ हजार ३ सय ६७ जना र शारदा नगरपालिकामा २ हजार ९ सय १३ जना बालबालिकालाई भिटामिन ए खुवाईदैँ छ ।
यस्तै दार्मा गाउपालिकामा २ हजार २ सय ७६ जना, कुमाख गाउपालिकामा २ हजार ६ सय ७५ जना, सिद्धकुमाख गाउपालिकामा १ हजार ३ सय ८४ जना, छत्रेश्वरी गाउपालिकामा २ हजार १३ जना, कालीमाटी गाउपालिकामा २ हजार ४ सय १७ जना, त्रिबेणी गाउपालिकामा १ हजार ४ सय ४२ जना र कपुरकोट गाउपालिकामा १ हजार ८ सय ८५ जना बालबालिकालाई भिटामिन ए खुवाउन लागिएको हो ।
यस्तै, २१ हजार ४ सय ५९ जना बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप सुपरभाईजर दशरथ श्रेष्ठले बताउनुभएको छ ।
यता, कर्णाली प्रदेश मातहतमा रहने गरी सल्यानमा सामाजिक बिकास कार्यालय स्थापना गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका तथा जेष्ठ नागरिक, श्रम तथा रोजगार लगाएतका क्षेत्रहरू हेर्ने गरि शुक्रबार खलंगामा कार्यालय स्थापना गरिएको हो ।
सामाजिक बिकास अधिकृत भिम प्रसाद पोखरेलले अब सल्यानमा सामाजिक बिकासको क्षेत्रमा प्रदेश सरकारले बिनियोजन गरेको बजेट तथा कार्यक्रम संचालन गर्न सजिलो हुने बताउनुभयो । कार्यालयमा ७ जना कर्मचारी दरबन्दी रहेको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरी प्रकाश बुढाथोकीले जनतालाई छिटो छरितो सेवा प्रदान गर्न यस कार्यालयले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउनु भएको छ ।