न्यायिक समितिमा इजलास अभ्यास

जाजरकोट, २ कात्तिक (जागरण) । जाजरकोटको नलगाड नगरपालिकाको न्यायिक समितिले अदालतकै झल्को दिनेगरी इजलासको व्यवस्थापन गरेको छ ।
नलगाडको न्यायिक समितिले गत वर्षदेखि इजलास स्थापना गरेरै न्याय सम्पादनको अभ्यास सुरु गरेको हो ।
न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढिरहेको बेला नलगाडले व्यवस्थित इजलासको अभ्यास गरिरहेको हो ।
इजलासमा संयोजक ‘मुख्य न्यायाधीश’ र अन्य सदस्य ‘न्यायाधीश’ रुपमा रहने गरी नगरपालिकाले आसनको व्यवस्था गरेको छ ।
जटिल मुद्दामा संयुक्त इजलास बस्ने गरेको छ । सामान्य मुद्दामा न्यायिक समितिका सदस्य तथा कानुन व्यवसायीसँग परामर्श गरेर फैसला गर्ने गरेको संयोजक बालकुमारी बस्नेतले बताउनुभएको छ ।