गुराँसका लागि सोचिएको ‘गुराँस–बुराँस’

दीपेन्द्र ओली ।

‘गुराँस’ नेपालको राष्ट्रिय फूल । गुराँसलाई रङ्गअनुसार फरक फरक नाम पनि दिइन्छ । रातोवालालाई लालिगुराँस, सेतोलाई सेतो गुराँस । कतै–कतै गुराँसलाई ‘बुरुस’ र कतिपय ठाउँमा ‘बुराँस’ पनि । जे होस् धेरै मात्रामा विभिन्न प्रजातिका गुराँस फूल्ने भएकाले दैलेखका ११ स्थानिय तह (गाउँपालिका/नगरपालिका) मध्ये एउटाको नाम रह्यो ‘गुराँस गाउँपालिका’ । जुन १६४.७९ वर्गकिलोमिटर (६३.६३ वर्गमाइल) क्षेत्रफलमा फैलिएको छ र यहाँ साविकका लालिकाँडा, पिलाडी, गोगापानी, बराह, शेरी, खड्गवाडा गाउँ विकास समिती समेटिएका छन् । गुराँस गाउँपालिका कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत, चिङ्गाड गाउँपालिका सुर्खेत, शिवालय गाउँपालिका जाजरकोट, दैलेखका डुङ्गेश्वर र भगवतिमाई गाउँपालिका र दुल्लु नगरपालिका तथा अछाम जिल्लाको तुर्माखाँद गाउँपालिकासँग सिमाना जोडिएको छ । २०६८ सालको जनगणनाको सरकारी तथ्याङ्कअनुसार हाल गुराँस गाउँपालिकाको जनसंख्या २२०३३ छ । जम्मा ८ वटा वडामा विभाजन गरिएको गुराँस गाउँपालिकाको सवैभन्दा होचो स्थान तल्लो डुङ्गेश्वर हो र यो दैलेख जिल्लाकै होचो हो । यस गाउँपालिकाको सवैभन्दा अग्लो स्थान बुरुसे लेक हो । जुन लेक दैलेख, सुर्खेत र जाजरकोट गरी तीन जिल्लाको सिमाना हो । यो स्थानिय तह विकास र समृद्धीको सम्भावना नै सम्भावना रहेको स्थानिय तह हो । यही सम्भावनालाई अवसरको रुपमा उपयोग गरी विकास गर्न सकिने आधारका रुपमा एउटा मोडल बनाउन जरुरी छ । सवैजसो स्थानिय नागरिकले विकासका लागि सोच्न जरुरी छ ।

गुराँस गाउँपालिका दैलेखको नक्शा । 

यहाँ गुराँसको विकासका लागि अवलम्वन गर्न सकिने मोडल उल्लेख गर्न खोजेको छु । जसको नाम ‘गुराँस–बुराँस’ दिएको छु । जुन, अंग्रेजी अक्षरहरुको संरचना हो । ‘गुराँस’ विकासका लागि निर्धारण गरिएको गन्तव्य हो भने ‘बुराँस’ गन्तव्यमा पुग्नका लागि अपनाइने बाटो हो । ‘गुराँस’ र ‘बुराँस’ भित्र कँही कतै जनताको बाध्यता र आवश्यकताहरुलाई पनि जोडिएको छ । किनभने कुनै पनि सम्भावना वा परिकल्पनाभित्र जनताको जनजिविकालाई पनि सँगसँगै अघि बढाउनुपर्छ । जस्तै ‘गुराँस’भित्र एकतालाई राखिएको छ भने ‘बुराँस’ भित्र आधारभूत आवश्यकता र सडक पूर्वाधारलाई जोड दिइएको छ ।

GURANS (गुराँस)

G: Good governance (सुशासन)

सुशासन कुनै पनि सार्वजनिक निकायको महत्वपूर्ण पाटो हो । कानून परिपालना, सार्वजनिक निकायप्रतिको कर्तव्य, जनताप्रति जवाफदेहिता, पारदर्शिता अनुभूती नै सुशासन हो । कुनै पनि कार्य गर्नका लागि सरकारले त्यसअघि नै ऐन, कानून, कार्यविधि बनाएर त्यसअनुसार नै बनाउनुपर्छ । खासमा सुशासन भन्नले असल शासन र कुशल प्रशासन नै हो । यसको अर्थ के हो भने, राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी र छरितो सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ । सुशासन भित्र जनसहभागितामूलक शासन व्यवस्था, जनउत्तरदायी सरकार सञ्चालन, शासन प्रक्रियामा पारदर्शिता अवलम्बन, कानुनमा आधारित शासन व्यवस्था, जवाफदेही शासन सञ्चालन, निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड, भ्रष्टाचाररहित समाजको परिकल्पना, नियम कानुनको परिपालना, वित्तीय जवाफदेहिता प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यवस्था जस्ता सुशासनका आयामहरुलाई गुराँस गाउँपालिकामा अवम्वन गरिनुपर्छ ।

U: Unity (एकता)

गुराँस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, लवज, संस्कृती, संस्कार, परम्परा छ । यी सवै भुगोलमा बस्ने, सवै समुदायमा बसोबास गर्ने नागरिकहरुबीच विकास जस्तो साझा सवालमा एकता हुन जरुरी छ । न फरक जात, न फरक धर्म, न फरक संस्कती सवैले सवैको सम्मान गर्ने, सवैले सवैलाई साथ र सहयोग गर्ने वातावरण भनेकै एकता हो । यसैगरी गुराँस गाउँपालिकामा बसोबास गर्ने नागरिकहरु राजनितिक विचार र कार्यदिशाको हिसावले फरक फरक पनि छन् । यो कुरा सत्य हो की तपाई हामी सवै कुनै न कुनै पार्टीको विचार र कार्यदिशालाई मन पराउँछौँ र त्यसैअनुसार निर्वाचनमा भोट पनि हाल्छौँ । त्यसपछि एउटा विचार राख्नेले शासनसत्ता सम्हाल्ने र अर्कोले प्रतिपक्षीको रुपमा कार्य गर्दछ । तर सत्ता पक्ष भन्ने वित्तिकै सवै विषयवस्तुमा प्रतिपक्षीलाई दुस्मन नै सम्झिने र उनीहरुका विचार र सुझावलाई ध्यान नै नदिने गर्नु हुँदैन । यसैगरी प्रतिपक्षी हुँ भन्दैमा सत्ता पक्षले गरेका राम्रा कामहरुको पनि उल्टाईपल्टाई विरोध गर्ने कार्य कोही कसैले पनि गर्न हुँदैन भन्ने म मान्यता राख्दछु । यहाँ पनि मैले यसैगरी विषयवस्तुलाई उल्लेख गर्न खोजेको हुँ । विकासको सवालमा सवै राजनितिक दलले आफ्नो स्वार्थभन्दा माथि उठेर भूमिका निर्वाह गर्नुपर्छ र यसका लागि वातावरण पनि बनाउनुपर्छ ।

R: Resource Create and mobilization (स्रोत सिर्जना र परिचालन)

आन्तरिक आर्थिक स्रोत परिचालन स्थानीय विकासको आधार हो । हाम्रो गणतान्त्रिक संविधानले स्थानीय तहलाई नागरिकको समस्या समाधान गर्ने, शासन अधिकारमा नागरिकलाई संलग्न गराउने, हकहितको संरक्षण गर्नेजस्ता विभिन्न जिम्मेवारी दिएको छ । स्थानीय तह राष्ट्रको पहिलो सुचना संकलक र नागरिकलाई सेवाप्रवाह गर्ने सरकार हो । स्थानिय सरकारमा आर्थिक तथा व्यवस्थापकीय क्षमता अपरिहार्य छ भने प्रभावकारी सेवाप्रवाह अर्को शर्त हो । सबल, जनउत्तरदाीय र कर्तव्यमुखी स्थानीय सरकार अबको आवश्यकता हो । यसका लागी आर्थिक स्रोत आवश्यक छ । स्थानीय सरकारको व्यस्थापनको जिम्मेवारी राजनीतिमा नेतृत्वमा हुन्छ । अहिले गुराँस गाउँपालिकामा आन्तरिक आर्थिक स्रोत निकै न्यून अवस्थामा छ । आर्थिक वर्ष २०७५/०७६ को मात्रै कुरा गर्ने हो भने गुराँस गाउँपालिकाले २७ लाख रुपैयाँमात्र आन्तरिक आर्थिक स्रोतको रुपमा राजश्व जम्मा गरेको छ । जवकी केन्द्र सरकारबाट ३४ करोड सशर्त अनुदान आएको थियो । अहिले आन्तरिक आर्थिक स्रोतको रुपमा ढुङ्गा, गिट्टी, बालुवा, तिरो मात्र छन् । यसको दायरा बढ्न सकेको छैन । अव यसको दायरा बढाएर आन्तरिक आर्थिक स्रोत वृद्धी गरेमात्र समृद्ध गुराँस गाउँपालिका बनाउन सकिन्छ ।

A: Awareness (सचेतना/जागरण)

गुराँस गाउँपालिकामा धेरै किसिमका सामाजिक विकास सँग सम्वन्धित समस्याहरु छन् । खासगरी बालविवाह, छाउपडि कुप्रथा, छुवाछुत, बोक्सी प्रथा, लैङ्गिक विभेद अलि धेरै छ । यतिमात्रै होइन, सामान्य भन्दा सामान्य मानविय व्यवहार पनि सुधार गर्नुपर्ने अवस्था छ । थाह हुँदा हुँदै पनि मानविय व्यवहार सुधार हुन नसकेको अवस्था हुन्छ । यतिमात्रै होइन हामीकहाँ विकास मेरो हो, विकासका लागि छुट्टिएको वजेट हाम्रै करबाट प्राप्त बजेट हो भन्ने धारणा अझै बनिसकेको छैन । विकास निर्माणको काम गुणस्तरिय बनाउनुपर्छ, बनिसकेको योजनालाई दिगो बनाउनुपर्छ र संरक्षण गर्नुपर्ने भन्ने सचेतना पनि हामीले जगाउन जरुरी छ । विकासका योजना छनौट र निर्माण प्रक्रियामा सहभागिता हुँदैन । सहभागिता कसरी हुन्छ ? कसरी योजना छानिन्छ ? योजना माग कसरी गर्ने ? जस्ता विषयमा अझै मानिसहरु अनभिज्ञ रहने गरेका छन् । माथि उल्लेख गरिएका भन्दा अन्य धेरै समस्याहरु पनि आउनसक्छन् । त्यस्ता समस्या समाधानका लागि स्थानिय सरकार र अन्य सरोकारवालाले अभियान अघि बढाउनुपर्ने हुन्छ ।

N: National target (राष्ट्रिय लक्ष्य)

केन्द्रिय सरकारले निर्धारण गरेको लक्ष्यलाई भेट्नेगरी स्थानिय तहहरुले पनि कार्य गर्नुपर्ने हुन्छ । हो संघियताले स्थानिय तहलाई पनि धेरै अधिकारहरु दिएको छ । तर संवैधानिक रुपमा दिइएका अधिकारलाई कतिपय अवस्थामा फरक अर्थमा बुझ्ने र केन्द्र सरकारको लक्ष्य एकातिर, प्रदेश सरकारको लक्ष्य अर्कोतिर र स्थानिय तहको अधिकार अर्कोतिर गर्न हुँदैन । केन्द्र सरकार वा प्रदेश सरकार को हो र ? भन्ने धारणा बसाल्नु हुँदैन । स्थानिय तहका पनि आफ्नै खालका लक्ष्यलाई केन्द्रित गरी अभियान चल्न सक्छन् तर ती अभियानहरु पनि कहीँ न कहीँ केन्द्र सरकारको लक्ष्यसँग जोडिन आवश्यक छ ।

S: Sustainable development (दीगो विकास)

गरिबीको अन्त्य, भोकमरी अन्त्य, स्वस्थ जीवनको सुनिश्चितता, समावेशी, समतामूलक गुणस्तरीय शिक्षा, लैंगिक समानता, सुरक्षित खानेपानी र सरसफाईमा दीगो व्यवस्थापन, दीगो आधुनिक ऊर्जा, उत्पादनमूलक रोजगार प्रवद्र्धन, असमानताको अन्त्य, सुरक्षित दीगो सहरीकरणको विकास, उत्पादनको सुनिश्चितता, जलवायू परिवर्तन र प्रभाव न्यूनीकरण, सामूहिक स्रोतको दीगो उत्पादन र संरक्षण, पर्यावरणीय संरक्षण, शान्त समावेशी समाजको सुनिश्चितता, दीगो उत्तरदायी संस्थाको विकास लगायत दीगो विकास लक्ष्य छ । संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वका साझा समस्यालाई सामूहिक र एकरूपताका साथ सम्बोधन गर्ने प्रयासको रूपमा सन् २०१५ सेप्टेम्वर २५ मा राष्ट्रसंघीय महासभाबाट पारित विश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०) मार्गचित्र नै दीगो विकास लक्ष्य हो । राष्ट्र संघको नेतृत्वमा ६० वटाभन्दा धेरै अन्तर्राष्ट्रिय संघसंस्था र ८८ वटा देशमा भएका विविध छलफलको निष्कर्षसहित विश्वलाई भोक, गरिबी, असमानता र वातावरणीय असन्तुलनबाट मुक्त गरी नागरिकलाई स्वस्थ, शिक्षित, समुन्नत र सुरक्षित बनाउने विश्व विकासको १५ वर्षे दोस्रो अभियानको नाम नै दीगो विकास लक्ष्य हो । सन् २०१६ बाट सुरू गरिएको यस दीगो विकास लक्ष्यमा १७ लक्ष्य र १६९ वटा सूचकहरू छन् । दीगो विकास लक्ष्य संयुक्त राष्ट्रसंघको ७० औं महासभाबाट १९३ राष्ट्रले अनुमोदन गरेपश्चात सन् २०१६ जनवरी १ देखि सन् २०३० सम्मका लागि लागू भएको हो । यो त भयो अलि ठूलो कुरा । यसलाई नै आधार बनाएर नीति तथा कार्यक्रम बनाउने र कार्यन्वयन गर्न जरुरी छ । ता कि एउटा योजना निर्माण गर्दा अर्को पाटोमा असर नपरोस् । जस्तै कि ‘डोजर काण्ड’ । वातावरणिय प्रभाव मूल्याङ्कन नै नगरी गुराँसमात्रै होइन सवैतिर डोजर प्रयोग भएका छन् । एउटा सानो पुल निर्माण गर्दा, एउटा सानो बाटो बनाउँदा वा कुलो बनाउँदा नै किन नहोस् त्यो विकास दीगो होस् । न कि आज बनायो अर्को वर्ष फेरी त्यसको मर्मतका लागि भन्दै वजेट छुट्याउन परोस् ।

BURANS (बुराँस)

हामीले ‘गुराँस–बुराँस’ मोडलअन्तर्गत ‘गुराँस’ का कुरा गरेका छौँ । अव ‘बुराँस’ का कुरा गरौँ । यहाँ ‘गुराँस’ अलि ठूलो विषयवस्तु हो र परिकल्पना हो । त्यो परिकल्पनालाई साकार पार्नका लागि वा भनौँ त्यसलाई पूर्ति गर्नका लागि अवलम्वन गर्नुपर्ने सम्भावनाका स्रोतहरु ‘बुराँस’ भित्र उल्लेख गरेको छु । स्थानिय सरकारले आफूलाई समृद्ध र विकसित बनाउनका लागि जडिबुटीलाई प्राकृतिक सम्पत्तीको रुपमा उपयोग गर्नुपर्ने हुन्छ । यसैगरी गुराँस गाउँपालिका खेतीपाती र पशुपालनका लागि उपयुक्त क्षेत्र हो । यसलाई व्यवसायिकरण गर्नुपर्ने हुन्छ । अर्को सम्भावना पर्यटन हो । यसमध्ये प्राकृतिक र धार्मिक गरी दुई किसिमको पर्यटन विकास गर्न सकिन्छ । यी र यस्तै विषयमा समृद्धिका आधार खोज्ने क्रममा अर्को कुरा विर्सन हुँदैन त्यो हो स्थानिय नागरिकलाई आधारभूत रुपमा सवै आवश्यकताहरु परिपूर्ती गराउनपर्ने र सडकको पहुँच । त्यो पनि सुरक्षित । यी आधारहरुको विस्तृतमा जानकारी यसरी तल उल्लेख गरेको छु ।

B: Botanica (जडिबुटी)

गुराँस गाउँपालिकामा खासगरी लोक्ता (नेपाली कागज बनाउन प्रयोग हुने कच्च पदार्थ), टिमुर, पखानवेद (समयो), सिल्फू, रिठा, अल्लोलगायत जडिवुटीहरु प्रसस्तै मात्रामा पाइन्छ । गुराँसको माथिल्लो लेकाली भेगमा पाइने लोक्ताको उपयोग स्थानियस्तरमै राज्यकै अनुदानमा लोक्ता प्रशोधन तथा कागज उत्पादन उद्योग स्थापना गरी बाहिर निर्यात् गर्नुका साथै स्थानियस्तरमा सवै सरकारी र गैरसरकारी कामका लागि नेपाली कागज नै प्रयोग गर्नुपर्ने नियम बनाउँदा यसले निकै ठूलो प्रभाव पार्छ । यस्तै टिमुरलाई प्रशोधन गरी मसला उत्पादन गरी स्थानियस्तरदेखि बाहिर निर्यात समेत गर्न सकिन्छ । त्यसैगरी स्थानियस्तरमै अल्लो प्रशोधन उद्योग सञ्चालन गरी अल्लोबाट कपडा उत्पादन गरेर लाभ लिन सकिन्छ भने रिठा, पखानवेद, सिल्फूलगायतका जडिबुटीलाई पनि वन विनास नहुनेगरी संकलन, प्रशोधनसम्मको काम गर्न सकिन्छ ।

U: Ultimate Needs (आधारभूत आवश्यकता)

हामी जतिसूकै विकास र समृद्धिका कुरा गरे पनि गुराँस गाउँपालिकाको विकासका लागि पहिला त जनता अभावमा बाँच्नु हुँदैन । गुराँस गाउँपालिकाका कतिपय वडामा यस्ता नागरिक पनि छन् जो साँझ विहानको छाक टार्नका लागि भारतका विभिन्न ठाउँमा पुगेर ६ महिना काम गर्ने र वर्षदिन गुजार्नुपर्ने । यस्तो अवस्थामा भएका आम नागरिकका परिवारहरु गासको कुरा त भइहाल्यो बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभूतको कुराको पहुँचमा छैनन् । यस्ता परिवारलाई लक्षित गरी गाउँमै आयआर्जन गर्ने र आधारभूत आवश्यकता परिपूर्तीका लागि अरुको भर पर्न नपर्ने स्थिति बनाउनपर्छ । आधारभूत आवश्यकता पुरा गरिदिने नाममा सरकार वा कुनै एनजिओको भर पर्नुपर्ने अवस्था वा भनौँ मगन्ते प्रवृत्ती र मनोवृत्ती सिर्जना हुन दिनु हुँदैन । यसका गरिवी नक्साङ्कन गरी, गाउँपालिकाबाट दिइने सुविधा र सहयोगमा नक्साङ्कन अनुसार भएको वर्ग विभाजनको आधारमा माथिल्लो वर्गसम्म हैसियत पुर्‍याउने गरी कार्य गर्नुपर्छ ।

R: Road Access (सडक पहुँच)

सवै सम्भावना नै सम्भावनालाई अवसरमा बदल्नका लागि केही अतिरिक्त कार्य गर्न जरुरी छ । त्यसमध्येको एक हो सडक पूर्वाधार । गुराँस गाउँपालिकाका सवै वडामा सडक त पुगेको छ तर सवैमा सवै महिना अर्थात् १२ महिना नै सवारी चल्न सक्दैनन् । खासगरी बर्षायाममा सवारीसाधन चल्न मुस्किल हुन्छ । अरु महिनामा पनि कति बेला के हुने हो ? भन्दै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यी सडकहरु स्थायी बनेका छैनन् भने यहाँ रुटपरमिट् लिएर सार्वजनिक सवारीसाधन चलेका छैनन् । चल्न त चल्छन् तर सुर्खेतदेखि धरमपोखरा हुँदै कचाली जोड्ने सडक तथा सुर्खेत दैलेख सडक खण्डबाहेक अरु जनताकै घरदैलो सम्म सवारी राम्ररी चल्न सक्दैनन् । सडक चाँही घरघरै सम्म पुगेको छ । टाढाबाट हेर्दा गाउँ तथा वन क्षेत्र खनेर छियाछिया भएको छ तर स्थायी रुपमा सवारी चल्न नसक्ने सडक खनेर मात्रै पनि के अर्थ । सडकको पहुँच सवै वडामा स्थायी प्रकृतिको पु¥याउन जरुरी छ । जसबाट गुराँसमा उत्पादित बस्तु निर्यात गर्न र केही सामान आयात गर्न सहयोग पुगोस् । जनताको दैनिकी सहज होस् ।

A: Agriculture (कृषि–खेतीपाती र पशुपालन)

गुराँस गाउँपालिकाभित्र अदुवा, आलु, ममफली (बदाम) जस्ता नगदेवालीका लागि छुट्टाछुट्टै पकेट क्षेत्र बन्न सक्छन् । प्रायः वडाहरुमा अहिले पनि अदुवा राम्रो उत्पादन हुन्छ तर यहाँ प्रशोधन नहुँदा सस्तो मूल्यमा बाहिर निर्यात गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाभित्र ममफली (बदम) राम्रो उत्पादन हुन्छ । यसलाई अझै व्यवसायिकरण गर्न जरुरी छ । यस्तै गाउँपालिकाको डाँडाक्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्र बनाउँदा उपयुक्त हुन्छ । पशुपालनका हिसावले व्यवसायिक बाख्रापालन (काठेजातको), व्यवसायिक भैँसीपालन, व्यवसायिक रुपमा गाईपालन (काठेजातको) गर्न सकिन्छ । स्थानिय सरकारले इच्छुक कृषकलाई खेतीपाती र पशुपालनका लागि सहुलियतमा ऋण उपलव्ध गराउनुपर्छ । तर अनुदान होइन । ऋणका लागि स्पष्ट योजना पेश हुनैपर्छ ।

N: Natural tourism (प्राकृतिक पर्यटन)

दैलेख जिल्लाको सवैभन्दा होचो स्थान तल्लो डुङ्गेश्वर गुराँस गाउँपालिकामै पर्छ । यस गाउँपालिकाका अग्लो स्थान गुराँसे र बुरुसे लेक हुन् । यस गाउँपालिकाका माथिल्ला डाँडाहरुमा प्राय हिउँदको समयमा हिउँ पर्छ भने बसन्त ऋतुमा ढकमक्क फुलेका लालीगुराँस हेर्न सकिन्छ । त्यतिमात्रै होइन, यस गाउँपालिकाको अग्लो स्थानबाट नेपालका दर्जनौँ जिल्लाका केही भागहरु देख्न सकिन्छ । नेपालका विभीन्न सम्पदा सुचीमा रहेका सुन्दर हिमालहरुको अवलोकन सजिलै गर्न सकिने गुराँस गाउँपालिकाबाट चीनको दक्षिणी सिमाना र भारतको उत्तरी सिमानासमेत देखिन्छ । गुराँसका जंगलहरुमा लोप हुने अवस्थामा पुगिसकेका वन्यजन्तु र पक्षीहरुको अवलोकन गर्नुको मज्जै बेग्लै हुन्छ । गुराँस गाउँपालिकाका प्रायः सवै वडाहरुमा ठूलाठूला पहाड र पक्कारसहित गुफाहरु पनि देख्न पाइन्छ भने नागबेली बगिरहेका नदिसमेत अवलोकन गर्न पाइन्छ । यस्ता पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरी व्यवस्थित पर्यटन प्रवद्र्धन गर्ने र पर्यटनलाई व्यवसायिक रुपमा अघि बढाउन सक्नुपर्छ ।

S: Sacred place (पवित्र स्थल)

गुराँस समृद्धिका लागि प्राकृतिक तथा धार्मिक पर्यटनलाई अर्को आधार बनाउन सकिन्छ । यहाँ अग्लो डाँडा बुरुसे (मालिका डाँडा) छ, जुन डाँडा सुर्खेत, दैलेख र जाजरकोटको संयुक्त डाँडा हो । जहाँ पुगेपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम र बाँके लगायतका अधिकांश क्षेत्र दृश्यावलोकन गर्न सकिन्छ । यस्तै ‘सिस्ने’ लगायत धेरै हिमालहरु प्रष्टै सँग आँखै अगाडि देख्न सकिन्छ । यस्तै देवीहरुका विभीन्न महिनीहरुमध्ये ‘मालिकादेवी’ उत्पन्न भएर ज्ञान प्राप्त भएको विश्वासका साथ जीवनभरमा एक पटकमात्रै भएपनि बुरुसे डाँडा पुगेर दर्शन गरेमा पाप मोक्ष हुने धारणा छ । यस्तै प्रत्येक कोजाग्रत पूर्णिमाको दिन वडानम्वर ७ मा पर्ने टोडलाउलामा मालिका देवीको मौलो पुज्ने र मेला लाग्ने गर्छ । त्यसैगरी पापकंश एकादशीका दिन वडानम्वर ८ को घिउपोखरीमा कालिका देवीको पुजाआजा तथा मेला पनि लाग्दछ । यस्ता पर्यटक लोभ्याउने प्राकृतिक तथा धार्मिक पर्यटनको व्यापक प्रचारप्रसार र आवश्यक विकासका लागि ध्यान दिनुपर्छ ।

अन्त्यमा,
माथी उल्लेख गरेका विकास र समृद्धिको परिकल्पना र त्यसलाई सघाऊ पुर्‍याउने आधारहरुलाई मात्रै सम्झेर, योजना बनाएर, कार्यन्वयनमा लैजान सकेमा गुराँस गाउँपालिका साँच्चिकै समृद्ध हुनेछ र जनता सुखी हुनेछन् । गुराँसमात्रै नभई अन्य ठाउँमा पनि यस्ता आधारहरुलाई कार्यन्वयनमा लैजान सकिन्छ । यो भन्दा धेरै अरु सम्भावना र परिकल्पना पनि हुनसक्छन् तर आधारभूत रुपमा यी विषय नै मूलभूत विषय हुन् । जो कोहीले स्थानिय सरकार गाउँपालिका वा नगरपालिकाको नेतृत्व गर्छौँ वा भविश्यमा नेतृत्व गर्ने सोच मात्रै बनाउछौँ भने पनि विकासको मोडल के हो ? दृष्टिकोण के हो ? स्पष्ट रुपमा कोर्न आवश्यक छ । आउनुहोस् आफ्नो घर नजिकैको स्थानिय सरकारलाई बलियो, विकसित, समृद्ध बनाई आफू सुखी बन्नलाई हातेमालो गरौँ । धन्यवाद ।

(लेखक सञ्चारकर्मी दीपेन्द्र ओली गुराँस गाउँपालिका वडानम्वर ८ का स्थायी बासिन्दा हुनुहुन्छ ।)