जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात

जुम्ला, ६ कात्तिक (जागरण) । यो वर्ष जुम्लाबाट ६ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष ३४ करोड १८ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।
आर्थिक वर्ष २०७४÷७५ मा १६ करोड र आर्थिक वर्ष २०७५÷७६ मा १७ करोड बराबरको स्याउ निर्यात भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दुई आर्थिक वर्षको तुलनामा यस वर्ष स्याउबाट करीब १७ करोड आम्दानी बढी भएको छ ।
पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् ।
स्याउको आम्दानी हेर्दा कम्तीमा एक किसानले चारदेखि ६ लाख रुपैयाँ बराबर कमाएका छन् । तिला गाउँपालिका–१ का नर रावत र महेन्द्र बुढाले स्याउ निर्यातबाट करिब दुईदेखि चार लाख रुपैयाँ कमाएको बताउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा १२ हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ ।