पंखबहादुर शाही
सुर्खेत, ७ कात्तिक (जागरण) । स्वास्थ्य बिमा अनुसारको निशुल्क औषधी नपाएको कर्णालीका नागरिकहरुले गुनासो गरेका छन् ।
उनिहरुले बिमा गरेका व्यक्तीहरुले कार्ड देखाउदा पनि बिमाका आधारमा पाउने औषधी डाक्टरहरुले नदिएको गुनासो गरेका हुन् ।
उनिहरुले सरकारी अस्पतालमा समेत बिमाअनुसारको औषधी नपाएको भन्दै बिमा गर्नुको अर्थ के ? भन्दै प्रश्न गरेका छन् ।
आफ्नो स्वास्थ्य बिमा गराएका सुर्खेत बराहतालका स्थानीय तिर्थराज गौतमले आफु प्रदेश अस्पतालमा जाँदा बिमाअनुसारको पाउनुपर्ने औषधी किन्नुपरेको गुनासो गर्नुभयो ।
उहाले आफुले पाँच प्रकारको औषधी निशुल्क पाउनुपर्ने भएपनि केहि औषधी किन्नुपरेको गुनासो गर्नुभयो ।
उहाँमात्र होइन प्रदेशका स्वास्थ्य बिमा गरेका अधिकांस स्थानीयले यस्तै गुनासो गर्ने गरेका छन् ।
यता, बिमा कम्पनीहरुले भने स्वास्थ्य बिमाअनुसारको औषधी नागरिकहरुले पाउनुपर्ने बताएका छन् ।
युनाइटेड बिमा कम्पनी शाखा कार्यालय सुर्खेतका प्रमुख धिरेन्द्र बहादुर शाहीले बिमाअनुसारको औषधी तोकिएको अस्पतालहरुले दिनुपर्ने प्रावधान रहेको बताउनुभयो ।
उहाले कर्णालीमा अझैपनि बिमा गर्ने नागरिकहरु कम रहेको भन्दै बिमा सम्बन्धी नागरिकहरुमा भ्रम रहेको बताउनुभयो ।
परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ ।
पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ ।
पाँच जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ ।
अतिरिक्त सदस्यले भने ४२५ रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ ।
सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।