कर्णाली प्रदेशमा नेकपाको स्थानीय कमिटी गठन अन्तिम चरणमा

सुर्खेत, ७ कात्तिक (जागरण) । नेपाल कम्युनिष्ट पार्टीले कर्णालीमा स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेको जनाएको छ । नेकपाले सुर्खेत बाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको हो ।
नेकपा प्रदेश कमिटी सचिव मायाँप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह, वडा कमिटीका पदाधिकारी चयन गरिसकेको जानकारी दिनुभयो ।
पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन गरेको हो ।
सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताउनुभयो । सुर्खेतमा प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र नौ स्थानीय तह छन् ।
यता, जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सामा नेकपाको गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रममा हिँडेका नेतामाथि आक्रमण भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका – ८ लैखमको बीचको उकालोमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो ।
आक्रमणमा प्रदेशसदस्य सिंहलाई धेरै चोट लागेको आचार्यले बताउनुभयो । आक्रमणपछि विज्ञप्ती जारी गर्दै नेकपा कर्णाली प्रदेशले आक्रमण गर्नेमाथी कडा कारवाहीको माग गरेको छ । अध्यक्ष गोरख बहादुर बोगटीद्वारा जारी विज्ञप्तीमा आक्रमण घाइतेहरुको उपचारका लागि सम्बन्ध नीकायको ध्यानाकर्षण समेत बनाइएको छ ।