भौतिक आक्रमणभन्दा बैचारिक बहसमा आउन चन्द माओवादीलाई आग्रह

सरोज वली
जाजरकोट, ८ कात्तिक (रेडियो खलंगा)
सत्तारुढ नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य निरज आचार्यले चन्द नेतृत्वको नेकपाका कार्यकर्ताको नाममा किटानी जाहेरी नगरेर बैचारिक तथा भौतिक प्रतिवाद गर्ने बताउनुभएको छ ।
चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको भोलीपल्ट आज जाजरकोटको सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले यस्तो बताउनुभएको हो ।
आफ्नो पार्टीको जिल्ला कमिटीले तय गरेको कार्यक्रमको लागि बारेकोट गाउँपालिकामा जादै गर्दा बुधबार बीचबाटोमा आफुहरुलाई आक्रमण गर्ने विप्लव नेकपाका कार्यकर्ताहरुको राजनैतिक व्यवहार नभएर अपराधिक क्रियाकलाप भएको नेता आचार्यले बताउनुभयो ।
नेपालको संविधानले राजनैतिक पार्टी खोल्ने, दल दर्ता गर्ने र विचार सहितको कुनै पनि राजनैतिक कार्यक्रमहरु संचालन गर्न पाउने छुट दिएको बताउदै नेता आचार्यले अपराधिक क्रियाकलापलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
यस्तै, जाजरकोटको कुशे गाउँपालिकामा विप्लव नेकपाका सयौं कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । गाउँपालिका स्तरीय पार्टी कमिटीको सपथग्रहण तथा पहिलो बैठकमा विप्लव नेतृत्व रहेको नेकपाका सयौं कार्यकर्ता सत्तापक्ष नेकपामा प्रवेश गरेका छन् ।
यता, कालिकोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।
केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले आज जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन् ।
पार्टीको राप्ती ब्यूरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज ‘वीरजंङ’सहित २१ नेता कार्यकर्ता गिरफ्तार भएको विरोधमा विप्लवका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।