कर्णालीका स्थानिय तहः अव सामाजिक विकासमा पनि ध्यान (अडियो सहित)

प्रविण शाही ।
सुर्खेत, १० कात्तिक (जागरण) । विगतमा विकास भन्नेवित्तिकै भौतिक पूर्वाधारलाई मात्र बुझ्ने गरेका कर्णाली प्रदेशका स्थानिय तहहरुले पछिल्लो समय भने सामाजिक विकासका क्षेत्रलाई पनि प्राथमिकता दिन थालेका छन् ।
पहिला भौतिक पूर्वाधार तर्फ पनि बढीमात्रामा सडक पूर्वाधार विकासका क्षेत्रमा वजेट विनियोजन गरेका कर्णालीका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा भने शिक्षा, स्वास्थ्य तथा अन्य सचेतनामूलक कार्यका लागि समेत प्राथमिकताका साथ वजेट विनियोजन गरेका हुन् ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले यो वर्ष सबैभन्दा धेरै बजेट शिक्षामा विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले सबैभन्दा धेरै बजेट शिक्षा र स्वास्थ्यमा विनियोजन भएको र हाल कार्यन्वयन शुरु भएको जागरणलाई जानकारी दिनुभयो ।

सुन्नुहोस् रोकायका कुराः

यस्तै मुगुकै सोरु गाउँपालिकाले शिक्षामा यो वर्ष ७० लाख र स्वास्थ्यामा ६० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष राज्यलक्ष्मी बम मल्लले आफ्नो स्थानिय तह शिक्षामा कमजोर भएकाले आफुहरुले शिक्षालाई विशेष जोड दिएको बताउनुभयो ।

सुन्नुहोस् बम मल्लका कुराः

सोरुमा स्वास्थ्य तर्फको वजेटबाट अहिले १५ सैयाको अस्पताल समेत खोल्ने तयारी भएको छ ।
दैलेखको महावु गाउँपालिकाले पनि यो वर्ष १५ शैयाको अस्पताल बनाउने योजना अघि सारेको छ । दैलेखका अधिकांश स्थानीय तहहरुले यो वर्ष शिक्षा क्षेत्रको परिर्वतनका लागि नीतिगत रुपमा व्यवस्था गरिएको जनाएको छ ।
जुम्लाको हिमा गाउँपालिकाले यो वर्ष सबैभन्दा धेरै बजेट शिक्षामा विनियोजन गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले कोहि पनि बालबालिका विद्यालय क्षेत्र भन्दा बाहिर नराख्ने उद्देश्यका साथ एक विद्यालय एक भौतिक पुर्वाधार भनेर अभियान नै सञ्चालन गरेको बताउनुभयो ।

सुन्नुहोस् शाहीका कुराः 

यसअघि कर्णालीका स्थानिय तहहरुले भौतिक पूर्वाधार विकासका क्षेत्रमा बढीमात्रामा वजेट विनियोजन गर्ने गरेका थिए । विगतका तीन वर्षको अवधिमा कर्णालीका १० जिल्लामा जम्मा १ हजार तीन सय २१ किलोमिटर मात्र सडक विस्तार भएको पाइन्छ ।
तर हाल सम्म हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिन सकिरहेको छैन । स्थानीय सरकारहरुले विगतमा अधिकांश वजेट पुर्वाधारमा विनियोजन गरेका भएपनि अपेक्षित प्रगति नभएको सरोकारवालाहरुले बताउने गरेका छन् ।