हुम्ला, ११ कात्तिक (जागरण) । हुम्लाको अदानचुली गाउँपालिकामा विगत दुई वर्षयता सुत्केरी महिलाहरुलाई भत्ता वितरण गरिएको छैन ।
स्वास्थ्यचौकीमै सुत्केरी हुन पुगेका महिलाहरुलाई दिनुपर्ने भत्ता पछिल्लो दुई वर्ष यता वितरण नभएको स्थानीय नागरिक होइजाली बुमीले गुनासो गर्नुभयो । उहाँका अनुसार गाउँपालिकामा भत्ता नपाउनेको संख्या करिब एक सय १५ जना भन्दा बढी छ ।
नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएवापत सरकारले हुम्लामा १ हजार ५ सय रुपैयाँ दिनुपर्ने हो । स्वास्थ्यचौकी इन्चार्ज प्रयोगलाल जैसीले कर्णाली प्रदेश सरकारले पठाएको रकम अपुग हुँदा भत्ता दिन नसकिएको बताउनुभयो ।
उहाँका अनुसार २०७४ सालमा ३३, २०७५ मा १९ र २०७६ मा ६३ महिलालाई भत्ता दिन बाँकी छ । यस विषयमा गाउँपालिका अध्यक्ष दल फडेराले प्रदेश सरकारले पठाएको बजेट भन्दा सुत्केरी महिलाको संख्या बढी भएकाले यस्तो समस्या देखिएको बताउनुभएको छ ।
सुन्नुहोस् फडेराका कुराः
गाउँपालिकालाई सशर्त अनुदानका काम तोकेर आउने भएकाले गाउँपालिकाले बजेट दिन नसकिएको उहाँको भनाई छ । उहाँले अपुग भएको रकम सख्याको आधारमा प्रदेश सरकारसँग पहल गरिने बताउनुभयो ।