सल्यान, २५ वैशाख (जागरण) । सल्यानको बाग्चौर नगरपालिका–१२, मा जनप्रतिनिधिको नाममा किर्ते हस्ताक्षर गरी योजनाको रकम दुरुपयोग गर्ने प्रयास भएको छ ।
दोभान–ओखरेनी–दर्का–सुकीदह सडक निर्माणमा अनुगमन समितिका पदाधिकारीको किर्ते हस्ताक्षर गरिएको फेला परेको हो ।
नगरपालिकाले किर्ते प्रकरणमा संलग्नबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । ६ सदस्यीय अनुगमन समितिमा वडा अध्यक्ष दीपक ओली र सदस्यसचिव पहलबहादुर ओलीको हस्ताक्षर मात्र सक्कल रहेको पाइएको छ ।
जनप्रतिनिधिहरू चित्रबहादुर ओली, कल्पना खत्री ओली, भीमप्रकाश ओली र भूमि विकको हस्ताक्षर किर्ते गरिएको नगरपालिका प्रमुख लोकमान बुढाथोकीले बताउनुभयो ।
१० लाख लागत अनुमान गरिएको सडकको स्टमेट अनुसार काम सम्पन्न भइसकेको भन्दै उपभोक्ता समितिले चैत ३० मा रकम माग गरेको थियो ।
नगर प्रमुख बुढाथोकीका अनुसार निर्माणबारे अनुगमन समितिलाई अनुगमनका लागि निर्देशन गरिएको थियो । काम भएकोबारे जनप्रतिनिधिलाई ‘क्रस चेक’ गरिएपछि मात्र किर्तेको रहस्य खुलेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार किर्ते हस्ताक्षर छानबिन र आवश्यक कारबाहीको माग गर्दै चार जनप्रतिनिधिले संयुक्त निवेदन दिएका छन् ।
किर्ते हस्ताक्षर गरेर योजना रकम दुरुपयोग प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही हुने बुढाथोकीको दाबी छ ।
सडक निर्माण समितिका अध्यक्ष रामबहादुर डाँगीले आफूहरूलाई फसाउन खोजिएको दाबी गर्नुभयो । उहाँले उक्त सडक निर्माणमा नियमअनुसार काम भएको दाबी गर्नुभयो ।