प्रदेश आयुर्वेद औषधालयलाई बढाउदै कर्णाली सरकार (अडियोसहित)

सुर्खेत, १६ कात्तिक (जागरण) । कर्णाली सरकारले प्रदेश आयुर्वेद औषधालयलाई बढाएर १५ शैयाको चिकित्सालयको रुपमा विकास गर्ने भएको छ ।
जनताको बढ्दो मागलाई सम्बोधन गर्दै औषधालयलाई विशेषज्ञ चिकित्सालय रुपमा विकास गर्न लागेको हो । यसका लागि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको बताएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले कर्णालीको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय तहसम्म पु¥याउने योजना रहेको बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा उपलब्ध जडीबुटीको संकलन, भण्डारण तथा प्रशोधन गर्न आवश्यक बजेट तथा स्तलको छनोट तयारी गरिएको छ ।
प्रदेशभर रहेका जडीबुटीहरुको अध्यन गरेर प्रशोधन तथा औषधि उत्पादन कार्य शुरु गर्नेगरी काम अगाडी बढाइएको उहाले बताउनुभयो ।

कर्णालीमा उपलब्ध बहुमूल्य जडीबुटी संकलनसँगै आयुर्वेद औषधि तथा चिकित्सा पद्धतिका बारेमा व्यापक छलफलका लागि प्रदेश सरकारले सुर्खेतमा छिट्टै राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।