सुर्खेत, २६ वैशाख (जागरण) । भाषाको हिसाबले धनी देश मानिएको नेपालमा धेरै भाषाहरु लोप हुँदै जान लागेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको संयोजनमा भाषा आयोगले आयोजना गरेको भाषा आयोगको संवैधानिक दायित्व सम्बन्धी प्रादेशिक भाषा संगोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले आयातित भाषाले मौलिक भाषा लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले मातृभाषालाई भन्दा अरुको भाषालाई प्राथमिकतामा राखी गर्वले छाती फुलाउनु दुःखद भएको बताउनुभयो ।
नेपालको चिन्तन गर्ने खालको पुस्ताको विकास गर्नका लागि भाषा र संस्कृति बचाउनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा आयोगद्वारा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार नेपाली खस भाषाको उद्गमथलो कर्णालीमै यो भाषा लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
करिब १४ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा खस भाषा बोल्ने १८ जना मात्रै छन् । जुम्लाको सिँजाबाट उत्पत्ति भएको खस भाषालाई नेपाली भाषाको जननी मानिन्छ ।
कर्णाली प्रदेशमा ५५ वटा मात्रै भाषा बोलिन्छन् । तीमध्ये खस भाषा ३३ औं स्थानमा पर्छ । सबैभन्दा बढी बोलिने भाषा नेपाली हो । नेपाली भाषा बोल्नेको संख्या १३ लाख ४६ हजार २ सय छ । आयोगका अध्यक्ष अवस्थी अध्यक्ष लवदेव अवस्थीले उत्पत्ति भएको ठाउँमै यो भाषा हराउनु विडम्बना भएको भन्दै अहिलेका पुस्तालाई भाषा सिकाउन आवश्यक रहेको बताउनुभयो ।
भाषा र संस्कृतिमा वैभवपूर्ण इतिहास बोकेको कर्णाली प्रदेशमै मौलिक भाषा जोखिममा पर्नु दुःखद भएको उहाँको भनाइ छ । स्थानीय र प्रदेश सरकार भाषा, संस्कृति संरक्षण तथा संवद्र्धनमा लाग्नुपर्ने अध्यक्ष अवस्थीले बताउनुभयो ।
स्थानीय सरकारका प्रतिनिधीको पनि सहभागिता रहेको कार्यक्रममा बोल्दै उहाँले अब भाषा संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारकै भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सामाजिक न्याय सहितको विकास गर्नका लागि भाषा र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धनमा स्पष्ट मार्ग्चित्र बनाएर काम गर्ने बताउनुभयो । आयोगका सहसचिव रामशरण सापकाेटाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा १२ वटा भाषा एक–एक जनाले मात्र बोल्ने गर्दछन् ।
जसभित्र सुरेल, ताजपुरिया, संस्कृत, पन्जावी, हायू, पहरी, मेचे, जिरेल, कुमाल, धिमाल, राजस्थानी र बंगला भाषा पर्दछन् । यो प्रदेशमा नेपालीपछि धेरै बोलिने भाषा मगर हो । मगरभाषीको संख्या ३२ हजार २९ छ । नेपालमा सबैभन्दा कम भाषा कर्णाली प्रदेशमा ५५ वटा भाषा बोलिने आयोगको प्रतिवेदनले जनाएको छ । सबैभन्दा बढी प्रदेश नम्बर ३ मा १ सय १३ भाषा बोलिने प्रतिवेदनमा उल्लेख छ ।