सुर्खेत, १८ कात्तिक (जागरण) । संघिय सरकारले सातवटै प्रदेशका लागि नयाँ प्रदेश प्रमुखहरुको सिफारिस गरेको छ । जसअन्तर्गत कर्णाली प्रदेशको प्रमुखमा गोविन्द कलौनीलाई सिफारिस गरिएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आउनुभएका कलौनी २०१२ साल जेठ २९ गते बैतडीको तत्कालीन रिम गाविसमा जन्मिनुभएको हो ।
उहाँ २०४८ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट निर्वाचनमा लड्नुभएको थियो । तीनै पटक चुनाव उहाँका लागि अनुकूल हुन सकेन ।
२०३५ सालदेखि दुई वर्ष अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएका कलौली २०३९ सालदेखि २०४१ सम्म डडेल्धुरामा तत्कालीन ‘माक्र्सवादी अध्ययन दल’ (नेकपा माले) को प्रमुख भएर काम गर्नुभएको हो ।
२०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएर पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका कलौनी २०५० सालमा नेकपा (एमाले) डडेल्धुराका संस्थापक सचिव हुनुभएको थियो । कलौनी २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) हुँदै २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परीक्षण कमिटीको सदस्य हुनुभएको थियो ।
यसैगरी २०६४ सालमा आठौं राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य रहनुभएका कलौनी २०६५ सालमा आठौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिनुभएको थियो । हाल उहाँ नेकपाको अरु महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्न ।
मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्नु हुनेछ ।