सुर्खेत, २० कात्तिक (जागरण) । कर्णालली प्रदेश सरकारले प्रत्येक जिल्लामा आवासिय विद्यालय निर्माण गर्ने भएको छ ।
विद्यार्थीहरुलाई टिकाउन तथा गुणस्तरिय शिक्षा कायम गर्न भन्दै १० वटै जिल्लामा आवासिय विद्यालय निर्माण गर्न लागिएको हो ।
एक कक्षामा भर्ना हुने ९८ प्रतिशत विद्यार्थीहरु १० कक्षासम्म पुग्दा ४० प्रतिशत मात्र हुने गरेको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा महाशाखा निर्देशानलयले जनाएको छ ।
निर्देशनालयका उपसचिव दिपा हमालले सानैमा बिबाह गर्नु, छोरीलाई विद्यालय नपठाउनु जस्ता समस्या कर्णाली प्रदेशमा रहेको भन्दै यसकै कारण विद्यार्थीको संख्या घट्ने गरेको कर्णाली रैबारलाई बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरु टिकाइरहन आवासिय विद्यालसहित अविभावकलाई चेतना दिनुका साथै आवासिय विद्यालय खोल्न लागिएको उहाले जानकारी दिनुभयो ।
कर्णालीमा बालश्रम, बालबिबाह उच्च छ । उहाले शिक्षाको अधिकार स्थानीय सरकारमा रहेको र भर्नाको प्रतिशत राम्रो देखिएपनि उपस्थिती निरासाजनक रहेको भन्दै विद्यार्थी टिकाउन सबै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षामा आमुल परिवर्तन ल्याउन प्रदेश सरकारले विभिन्न कार्यक्रम बनाइरहेको भन्दै केहि समयमा शिक्षा क्षेत्रको गुणस्तरियता कायम हुने उहाको दाबी छ ।
यस्तै, कर्णाली प्रदेशका ६७ प्रतिशत बालबालिका श्रम गर्न बाध्य रहेको तथ्यांकले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको अध्ययनमा विद्यालय जाने उमेर समूहका भारी बोक्नेदेखि ढुंगा खानीमा काम गर्ने पाइएको हो ।
प्रदेश सरकारको तथ्यांकअनुसार कर्णालीका १५ वर्षमुनिका ६७ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको श्रम गरिरहेका छन् । २४ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिका श्रममा संलग्न भएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकले बताउनुभयो ।
कर्णालीका बालबालिकाको श्रम गन्तव्य भारतका विभिन्न सहरमा हुने गरेको पाइएको छ ।