तरकारीमा आत्मनिर्भर हुँदै गुराँस गाउँपालिका, बार्षिक २२ करोडको तरकारी निर्यात (अडियोसहित)

टेकराज केसी
सुर्खेत, २० कात्तिक (जागरण) दैलेख गुराँस गाउँपालिकाबाट गत आर्थिक बर्षमा मात्र २२ करोड बराबरको तरकारी निर्यात भएको छ ।
गाउँपालिकाले दिएको तथ्याङ्कअनुसार पालिकाका ८ वटै वडाबाट २२ करोड बराबरको तरकारी निर्यात भएको हो ।
गाउँपालिकाको प्रारम्भीक तथ्याङ्कअनुसार सबैभन्दा धेरै तरकारी वडा नम्बर ६ र ८ बाट भएको छ भने सबैभन्दा कम उत्पादन वडा नम्बर १ र ७ मा भएको छ ।
सबैभन्दा धेरै आलुको उत्पादन हुने गरेको भन्दै गाउँपालिकाको कृषि शाखाले आलु र अन्य तरकारी गरि करिब एक हजार टन उत्पादन भएको प्रारम्भीक तथ्याङ्क रहेको जनाएको छ ।
गाउँपालिका खेमराज ओलीले आफुहरुले गाउँपालिकाबाटै निर्णय गरी किसानहरुलाई अनुदान र सहयोग गरेको भन्दै अहिले व्यवसायिक किसानहरुको संख्या एक हजार पु¥याएको कर्णाली रैबारलाई बताउनुभयो ।

सफल कृषकहरुलाई प्रोत्साहन गर्ने गरिएको भन्दै गाउँपालिकाभरका किसानहरुले गत आर्थिक बर्षमा मात्र २२ करोडको तरकारी उत्पादन गरेको उहाले बताउनुभयो ।
अध्यक्ष ओलीले आगामी दुई बर्षभित्र गाउँपालिकाभर दुइ हजार व्यवसायिक कृषक संख्या पु¥याउने योजना रहेको बताउदै एक अर्बको बार्षिक आम्दानी पुग्ने लक्ष राखिएको जानकारी दिनुभयो ।

लोकल कुखुरा र अन्य अग्रानीक उत्पादनलाई पनि वृद्धि गर्नेगरी गाउँपालिका लागेको भन्दै उहाले किसानलाई अनुदान, किसानसँग साझेदारी र बजारीकरण गर्न नीति तथा कार्यक्रम बनाएर नै अगाडी बढेकको बताउनुभयो ।
यस गाउँपालिकामा अधिकांस नागरिकहरु व्यवसायिक रुपमा आलु, काउली र अन्य तरकारी खेतीमा आत्मनिर्भर छन् । समग्रमा एकजनाले बार्षिक ३ लाख रकम कमाउने गरेको कृषि शाखाले जनाएको छ ।