खानपान र स्वास्थ्य: कसैले ‘कोदे’ भने गर्व गर्छु

डा. अरुणा उप्रेती ।

दश वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपाईलाई त कति मान्छेले कोदे बूढी भन्छन् । तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले ।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन् । यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन् ।’
अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ । मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ ।
अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानी गर्छ । स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन् । त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ ।
पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन् । तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन् । यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख । एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन् । बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ । त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेश ।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन । अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन् । आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन् ।

बिग्रिएका नरिवलजति बिस्कुट कारखानामा कतिपयले पाकेटमा राखिएको खाना सफा गरेर नै बनाएको हुन्छ भन्ठान्छन् । जुना नामकी एक महिलाले पनि पहिले–पहिले त्यस्तै ठानेर बिस्कुट, दालमोठ आदि खाजाका रूपमा आफ्ना छोराछोरीलाई दिएर पठाउँथिन् । एकदिन किराना पसलमा जाँदा उनले देखिछन् कि पसलकी साहुनीले ढुसी परेका नरिवल जोख्दै रहिछन् ।

ढुसी परेका नरिवल पनि किन जोखेको होला नेर उनले साहुनीलाई सोधिछन् । त्यसपछि साहुनीले भनिछन्– यी बिग्रेका नरिवल बिस्कुट कारखानाबाट एक व्यक्ति आएर सस्तोमा लैजान्छ । यो सुनेर जुना छक्क परिन् । नभन्दै एकछिनमा गाडी लिएर आएका एक व्यक्तिले बिग्रिएका सबै नरिवल बोरामा हालेर लग्यो । यो देखेपछि मात्र जुनाले आफ्ना छोराछोरीलाई बिस्कुट खान दिन छाडिन् ।

विभिन्न प्रशोधित खाना खाएका कारण कुपोषण भएका शिशुलाई ठूलो भएपछि उच्च रक्तचाप, मधुमेह (चिनीको रोग), मुटुको रोग आदि हुन सक्ने सम्भावना बढी हुने वैज्ञानिकहरूले बताएका छन् । त्यसैगरी सानैदेखि धेरै पत्रु खाना खाएर धेरै मोटा भएका बच्चाहरू पनि वयस्क भएपछि पनि मोटा नै हुन्छन् । यसले गर्दा उनीहरू अनेक थरीका नसर्ने रोग, उच्च रक्तचाप, मधुमेह, हड्डी खिइने, मिर्गौलाको समस्या आदिबाट पीडित हुन्छन् ।

स्वस्थकर खाना खान हामीले महँगो पैसा तिर्न पर्दैन। सजिलै पाइने दाल, भात, रोटी, चिउरा, आलु, भटमास, गोलभेंडा, फर्सी, स्कुस, कुभिन्डो आवश्यकताअनुसार खाने गरेमा स्वस्थ रहन सकिन्छ।