टेकराज केसी
सुर्खेत, २६ कात्तिक (जागरण) । दैलेख गुराँस गाउँपालिकाबाट बालबालिका ओसार पसार हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
गुराँस गाउँपालिकाको आयोजना र सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र सोसेक दैलेखको साझेदारीमा बालबालिकाहरुको नीतिगत व्यवस्थाहरुको अविमुखिकरण कार्यक्रममा सहभागि भएका उनिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले विशेष गरेर बालबालिकाहरुलाई ओसार पासार गरेर शहरमा लिने गरिएको भन्दै यो रोक्न पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिका वडा नम्बर २ बाट दलित वस्तीका बालबालिकाहरु ओसार पसार गरेर काठमाडौँ लिएर शोषण गर्ने गरेको भन्दै तत्काल यसको एक्सनमा जान सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै शिक्षक महेन्द्र रामजाललीले वडा नम्बर २ बाट ६ जना बालबालिका ओसापसार गरिएको तथ्य पत्ता लागेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दैलेख जिल्लाको गेटमा रहेको गाउँपालिकाबाट बालबालिकाहरु ओसार पसारको दर बढेको भन्दै यसको समाधानका लागि स्थानीय सरकार र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु नीतिगत रुपमै लाग्नुपर्नेमा उहाको जोड छ ।
कार्यक्रममा बोल्दै अर्का शिक्षक बिष्णु शर्माले शिक्षा क्षेत्रको विकास र बालबालिकाको संरक्षणमा सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाले अग्रेजी माध्यमबाट शिक्षण सिकाई बनाउदा काँही कतै विद्यार्थीहरु अलमल हुने गरेको बताउनुभयो ।
यता, गुराँस गाउँपालिका दैलेखले भने बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गरेको बताएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाले देशकै नमुना कार्यक्रमको रुपमा जिवन शुरक्षा कोष लागु गरिएको भन्दै अब कोही पनि बालबालिका गरिब भएर बाच्नु नपर्ने बताउनुभयो ।
उहाले गाउँपालिकालाई नै बालमैत्री बनाउनका लागि काम अगाडी बढेको भन्दै यस क्षेत्रमा सहयोग पु¥याउने साझेदार संस्थाहरुलाई धन्यबाद समेत दिनुभएको छ ।
उहाले गाउँपालिकाभित्रका जनप्रतिनिध, कर्मचारीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्नेगरी नीति कार्यान्वयनमा जान थालेको बताउनुभयो ।
अध्यक्ष ओलीले बालबालिका ओसार पसार गर्ने गरिएको प्रसंङ्गमा ओसार पसार भएको थाहा पाउने जोकोहीले पनि जानकारी गराउन आग्रह गर्दै ओसार पसार गर्ने विरोद्ध कारबाही गरिने प्रतिवद्धता जनाउनुभएको छ ।