बुद्धी पुन
सल्यान, २६ कात्तिक (रेडियो राप्ती) । सल्यानमा आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सल्यानमा प्रमुख राजनीतिक दलहरूले आ आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।
वडा अध्यक्ष रिक्त रहेको कुमाख गाउपालिका वडा नम्बर ५ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
कुमाख गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुख भएसँगै वडाअध्यक्ष पदरिक्त रहेको थियो ।
रिक्तपदमा नेकपाको तर्फबाट धर्मे बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका जिल्ला सचिव कर्ण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै कांग्रेस नेपाली काँग्रेसले वडाअध्यक्षको निर्वाचनका लागी खड्ग बहादुर बोहरालाई उम्मेदवार बनाएको छ ।
पार्टी जिल्ला सभापती गणेश चन्दले पार्टीका आधिकारिक उम्मेदवार बोहरा भएको जानकारी दिनुभयो ।
उहाँले पार्टीको निर्णय अनुसारलाई नै बोहरालाई वडाअध्यक्षको उम्मेदवार बनाउने भनेर निर्णय भैसकेको र उहाँले निर्बाचनमा उम्मेदवारी दिने जानकारी दिनुभयो ।
उम्मेदवार टुंगो लागे सँगै सत्तारुढ नेकपा र नेपाली कांग्रेस दुबैले प्रचार प्रसारमा तिब्रता दिएका छन् । यसका साथै साना दलहरूले पनि आफ्ना उम्मेदवारको टुंगो लगाउन आन्तरिक तयारी गरिरहेका छन् ।