सुर्खेत, २६ वैशाख (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले ई–सेवा शुरु गरेको छ । उपभोक्तालाई छरितो र सहज सेवा उपलब्ध गराउने उदेश्यले संस्थाले आजदेखि ई–सेवा शुरु गरेको हो ।
इसेवासँगको सहकार्यमा संस्थाले आज वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । ई सेवको उद्घाटन भौतिक, पुर्वाधार विकास मन्त्री खड्ग बहादुर खत्रीले गर्नुभएको हो ।
ई–सेवा शुरु भएपछि अब उपभोक्ताहरुले जुनसुकै ठाउँबाट पनि वाटरमार्क नामक मोबाईल एप्लिकेशमार्फत सहज सेवा लिन सक्ने संस्थाका अध्यक्ष कुलमणी देवकोटाले जानकारी दिनुभयो ।
उहाँले मिटरमार्क मार्फत खानेपानीको मिटर रिडिङ्ग गर्ने सँगै खानेपानीको महशुल भुक्तानी गर्न सकिने पनि जानकारी दिनुभयो । उहाँले अब संस्थाको सेवा पारदर्शी हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खत्रीले उपत्यकामा पानीको मात्रा कम हुँदै गर्दा जनताहरुको बस्ति बढिरहेका कारण पानी वितरणमा उत्पन्न हुने समस्यातर्फ पनि सचेत गराउनुभयो ।
यसका साथै मन्त्री खत्रीले भेरी बबई डाइभर्सनले ४० प्रतिशत पानी लैजाने हुँदा यसबारेमा सबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो ।