कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई प्लाष्टिकमुक्त बनाईँदै (अडियोसहित)

सुर्खेत, २८ कात्तिक (जागरण) । प्लास्टिकका सामग्री र झोलाका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दैे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पलाष्टिकमुक्त शहर बनाउने तयारी थालिएको छ ।
यसका लागि प्लास्टिक झोलामुक्त वीरेन्द्रनगर बनाउन कर्णाली प्रदेश सरकारले कार्ययोजना पनि बनाइसकेको छ ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा वीरेन्द्रनगरलाई प्लास्टिकमुक्त बनाउन लागिएको हो । अभियानको नेतृत्व मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने छ ।
कार्यालयका अनुसार प्लाष्टिकजन्य फोहरका कारण प्रदेश राजधानीको सौन्दर्यमा ह्रास आएकाले प्लास्टिकमुक्त सहर बनाउन लागिएको हो । प्लास्टिकजन्य फोहरकै कारण पर्यटन व्यवसायमा समेत असर पुगेको कार्यालयले जनाएको छ ।
त्यसका लागि कार्ययोजनासमेत निर्माण गरिएको र कार्ययोजना कार्यान्वनका लागि सबै पक्षलाई जिम्मेवार बनाइएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णाली रैबारलाई बताउनुभयो ।

उहाका अनुसार पहिलो चरणमा राजधानी सुर्खेतका प्रमुख क्षेत्र प्रदेश मन्त्रालय, देउती बज्यै क्षेत्र र काक्रेबिहार क्षेत्रमा मंसिर १ गतेबाट नै काम शुरु गरिने छ ।

विभिन्न रसायनबाट बनाइएका प्लास्टिकका झोला वर्षौसम्म नकुहिने तथा प्रकाश, ताप र अन्य रासायनिक पदार्थबाट समेत नष्ट नहुने भन्दै स्वास्थ्य र शहर सौन्दर्यतालाई मध्यनजर गरि राजधानीलाई प्लास्टिकमुक्त बनाउन थालिएको उहाले बताउनुभयो ।