द्वन्द्व प्रभावित गाउँलाई सेनाको अस्पताल उपहार

रुकुम, २६ वैशाख (जागरण) । रुकुमको त्रिवेणी गाउँपालिकाको खारानेटामा नेपाली सेनाले अस्पताल बनाईदिएको छ । द्वन्द्वको कारण चरम दुख र यातना पाएको खारालाई द्वन्द्व पक्षधर मध्यको नेपाली सेनाले अस्पताल बनाइदिएको हो ।
सेनाको देवीदल गणले चार महिनाको मेहनतपछि खारावासीलाई सुविधासम्पन्न अस्पताल हस्तान्तरण गर्दै छ । निर्माणको काम अन्तिम भैसकेकाले अस्पताल छिट्टै खारावासीलाई हस्तान्तरण हुनेछ ।
शौचालय र बाथरुमसहित ६ कोठाको अस्पतालमा ७ वटा शय्या राखिनेछ । साविकको खारा गाविस–१, तथा हालको त्रिवेणी गाउँपालिका–३, खारानेटामा अस्पताल बनेको छ ।
खाराका लागि आफूहरुको उपहार भएको भन्दै देवीदल गणका गणपति प्रमुख सेनानी पंकज रावलले नागरिकसँगको सम्बन्ध सुमधुर र सहकार्य भैराखोस् भन्ने उद्देश्यले अस्पताल बनाएको बताउनुभयो ।
नगद र श्रम गरेर २० लाख मूल्य बराबरको लगानी भएको जनाइएको छ । गणले ११ लाख नगद लगानी गरेको छ भने ९ लाख बराबरको श्रम गरेको छ ।
भवन तयार भैसकेकाले त्रिवेणी गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक तयारी गरिसकेको छ ।
अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गाउँ कार्यपालिकाले गरिसकेको छ भने प्रयोगशाला सञ्चालनका लागि प्रयोगशाला सहायक नियुक्त गरिसकेको छ ।
व्यवस्थस्थित स्वास्थ्य सेवा र टेलिमेडिसिन सुरु गर्ने गरी उपकरण खरिद हुने गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले बताउनुभयो ।