उद्योगको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छः मन्त्री बुढा

सल्यान, २८ कात्तिक (रेडियो राप्ती) । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिहं बुढाले लघु, घरेलु तथा साना उद्योगको विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
साना उद्योगको विकास नभएसम्म ठुला उद्योगको विकास सम्भव नरहने उहाँले बताउनु भयो ।
आज सल्यान खलंगामा आयोजित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले कर्णाली प्रदेशको हकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनु भयो ।
साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै मन्त्री बुढाले यस्ता उद्योगहरुबाट गुणस्तरिय र प्रतिस्पर्धी उत्पादन बजारमा आउनु पर्नेमा जोड दिनु भयो ।
कर्मचारी समायोजन ऐन लगायतका कारण कर्णाली प्रदेशमा कर्मचारीको अभाव हुँदा कार्यक्रम केही प्रभावित भए पनि अव त्यस्तो समस्या नहुने उहाँको भनाई छ ।