काठमाण्डौँ, २४ फागुन (जागरण) । मधुमेहबाट बच्नका लागि खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
खानपानमा ध्यान नदिँदा मधुमेह हुने भएकाले त्यसतर्फ ध्यान दिएमा यसबाट बच्न सकिने चिकित्सकहरुले बताएका हुन् ।
हरेक १० जना मधुमेहका बिरामी मध्ये एकजना महिला रहने गरेको तथ्याङ्क छ । विशेषगरी महिलाहरुलाई मधुमेहको धेरै जोखिम हुने वीर अस्पतालका मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ डाक्टर अलर्क देवकोटा रजौरियाले बताउनुभयो ।
उहाँकाअनुसार गर्भावस्थामा मधुमेह देखिएमा ती महिलालाई भविष्यमा मधुमेह हुने खतरा धेरै हुन्छ ।
महिलामा मधुमेह भए, उसबाट जन्मने बच्चामा अपाङ्गता हुनसक्न तथा महिलाको मृगौला, आँखा, मुटु, खुट्टा र नलीमा असर हुन्छ ।
तौल घट्नु, थकान बढ्नु, मुख सुख्खा हुनु र धेरै पिसाव लाग्नु मधुमेहको प्रमुख लक्षण भए पनि ५० प्रतिशत मानिसमा कुनै पनि प्रकारको लक्षण नदेखिने गरेको उहाँले बताउनुभयो । तेलमा तारिएका खानेकुरा मधुमेहको लागि सबैभन्दा हानिकरण भएको डाक्टरको भनाई छ ।
यस्तै मैदाले बनेका मम, चाउमिन, भूजिया लगायतका खानेकुरा पनि नखान डाक्टरको सुझाव छ । नियमित कम्तिमा पनि आधा घण्टा पसिना आउने गरी व्यायाम गर्नु नै मधुमेहबाट जोगिने उपाय भएको उहाँले बताउनुभयो । विश्वमा करिव ४२ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएको छ ।
मधुमेहका करिव ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । पहिले पहिले विकाशसिल राष्ट्रमा देखिएको मधुमेह केही वर्ष यता विकासोन्मुख राष्ट्रमा विकराल बन्दै गएको छ ।