प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमुना सहर बनाउने मुख्यमन्त्रीको घोषणा

सुर्खेत, १ मंसिर (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमुना सहर बनाउने वताउनुभएको छ ।
वीरेन्द्रनगरमा रहेको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिविम्व राजधानी शहरले दिने भएकोले वीरेन्द्रनगरलाई नमुना शहरको रुपमा विकास गरिनुपर्ने बताउनुभएको हो ।
उहाँले वीरेन्द्रनगरलाई नमुना सहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
सडक, खानेपानी, विद्युत, सरसफाई तथा अन्य पुर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यक रहेको उहाँको भनाई छ ।
मुख्यमन्त्री शाहीले अव्यवस्थित रुपमा भईरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।
स्वच्छ, सफा र प्रदुषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको वताउदै उहाँले जथाभावी फोहर फाल्ने वानीको अन्त गर्नुपर्ने उहाको भनाई छ ।
उहाले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड वजेट विनियोजन गरेको भन्दै खानेपानी आपुर्तीको दीर्घकालीन सामाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने बताउनुभयो ।