एप्समार्फत विद्यालयहरुको गतिविधि निगरानी

ज्ञानु गौतम
रुकुम पश्चिम, १ मंसिर (रेडियो चौरजाहरी) । रुकुम पश्चिमको चौरजहारी नगरपालिका शिक्षा शाखाले एप्समार्फत कार्यालयमै बसेर पनि विद्यालयहरुको गतिविधि निगरानी गर्न थालेको छ ।
मिदाससँगको सहकार्यमा चौरजहारी नगरपालिकाले तयार गरेको चौरजहारी नगरपालिका रुकुम पश्चिम नामक एप्सको प्रयोग गरी शिक्षक उपस्थिति लगायत विद्यालका विभिन्न गतिविधिहरुको निगरानी लिन थालेको हो ।
हाल परीक्षणको रुपमा चार ओटा विद्यालयमा शिक्षक हाजिरी अद्यावधिक हुने गरेको छ । शीतल मावि चौरजहारी, मावि खहरे, कालीका आधारभूत विद्यालय लयाँटा र जनकल्याण मावि सानाखोलामा प्रविधिमार्फत विद्यालय गतिविधि हुँदै आएका छन् ।
चौरजहारी नगरपालिका रुकुम पश्चिम नामक एप्समार्फत दैनिक रुपमा शिक्षक हाजिरी, विद्यार्थी हाजिरी, पाठ्यक्रम गतिशीलता, मिदास इ क्लासको प्रयोग अद्यावधिक गर्न सकिन्छ । त्यसैगरी गृहकार्य, विद्यार्थीको सिर्जनशीलता, विद्यार्थी उपलब्धि, विद्यार्थी मूल्याङ्कन, प्रधानाध्यापकका कार्यहरु, बालशिक्षाका कार्यहरु पनि प्रधानाध्यापक र प्रत्येक शिक्षकले अद्यावधिक गर्नुपर्नेछ ।
एप्समार्फत हाजिरी सहित विद्यालय गतिविधि अद्यावधिक र नगर शिक्षा शाखा र नगरपालिकाबाट समेत त्यसको निगरानी हुन थालेपछि त्यसको सकरात्मक प्रभाव पर्न थालेको प्रधानाध्यापकहरुले बताएका छन् ।