विद्यालयमा समयमै शिक्षकहरु विद्यालयमा नपुग्दा पठनपाठनमा ठप्प

खड्क सुनार
मुगु, १ मंसिर (रेडियो सौर्यदय) । मुगुका ग्रामिण क्षेत्रका सरकारी विद्यालयमा समयमै शिक्षकहरु विद्यालयमा नपुग्दा पठनपाठनमा ठप्प भएको छ ।
अधिकांस विद्यालयहरुमा शिक्षकहरु पढाउन नजादा पठपाठन प्रभावित बनेको हो ।
सोरु गाँउपालिका ६ जिमा गाँउमा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा शिक्षकहरु उपस्थित नहुदा विद्यार्थीहरु नपढेरै घर फर्किने गरेका छन् ।
विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरु १० बज्नु अघिनै पुगी सकेका हुन्छन् तर विद्यालयमा कार्यरत शिक्षकहरु विद्यालय जादैनन् भने केहि शिक्षकहरु ११ बजे सम्म विद्यालय उपस्थित हुदैनन् ।
यो विद्यालयमा १ सय ५० जना विद्यार्थी छन् । उक्त बिद्यालयमा एक जना बालबिकास सहजकर्ता सहित अन्य तीन जना शिक्षक छन् । विद्यालयमा कार्यरत प्रधानाध्यापक गणेश भट्ट र अर्का शिक्षक टंक भट्ट दशै बिदादेखि विद्यालयमा अनुपस्थित छन् ।
यी बाहेक अन्य तिनै जना शिक्षक गाँउमा भएपनि दिनहु ११ बजे भन्दा अगाडी कहिल्यै विद्यालयमा उपस्थित नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यालयको समयमा प्रधानाध्यापक भट्ट र अर्का शिक्षक मल्ल मदिरा सेवन गरेर आउने गरेको विद्यार्थीहरु बताउँछन् ।
यसबारे वडा अध्यक्षलाई जानकारी गराएपनि कुनै कारबाही नगरेको अभिभावक भिम बहादुर खत्रीले बताउनु भयो ।
बालबालिकाको पढाईमा बाधा पर्ने गरी नियमित बिद्यालय नआउने शिक्षकहरुलाई तत्काल कारबाही गर्न माग हुन थालेपछि अहिले नियमित विद्यालय नआउने श्रिक्षकको हाजिरी जफत गरि कारबाही गरिने सोरु गाँउपालिकाका अध्यक्ष लोकबहादुर शाहीले बताउनुभएको छ ।